उपराष्ट्रपति यादवसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

समाचार

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा.डेनियल म्यूली मोन्टेलियोनले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेट गरेकी छन् ।

भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्ध, विकास सहयोग, लगानी तथा व्यापार, पर्यटनलगायतका मुद्दामा छलफल भएको हो ।

उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भए पश्चात नेपाल र स्वीट्जरल्याण्डबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहेको र नेपालले स्वीट्जरल्याण्डसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिंदै आएको बताए ।

उनले भने, ‘ उच्च राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदान प्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धका आधार स्तम्भहरु हुन् ।’

उनले नेपालको विकास पथमा मित्र राष्ट्र स्वीट्जरल्याण्डको निरन्तर साथ र सहयोग रहनेमा आशावादी रहेको बताए । ‘नेपालको शान्ति प्रक्रियामा सुरुवाती चरणदेखि नै स्वीस सरकारको महत्वपूर्ण सहयोग रही आएको छ’ उपराष्ट्रपति यादवले भने, ‘यसका लागि म स्वीस सरकारलाई धन्यवाद व्यक्त गर्दछु ।’

उनले बहुपक्षीय मञ्चहरुमा जलवायु परिवर्तनलगायतका अन्तर्राष्ट्रिय मुद्दाहरुमा स्वीट्जरल्याण्डको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै आपसी हितका विषयहरुमा दुईपक्षीय र वहुपक्षीय मञ्चहरुमा हाम्रो सहकार्य निरन्तर कायम रहनेमा आफू आशावादी रहेको बताए ।

‘नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकोले नेपाल सरकारले तदअनुसार तयारी गरिरहेको छ’ उनले भने, ‘यसका लागि हामी विकास साझेदारहरुबाट श्रोत–साधन, प्रविधि लगायत आर्थिक साझेदारीको अपेक्षा गर्दछौं ।’

भेटमा स्वीट्जरल्याण्डका राजदूत डेनियल म्यूली मोन्टेलियोनले नेपाल र स्वीट्जरल्याण्ड असल मित्र भएको जनाउँदै स्वीस सरकारले नेपालमा रहेको तीनै तहको सरकारलाई बलियो बनाउँदै संघीयतालाई सबल र सुदृद्ध बनाउनमा सहयोगका लागि इच्छुक रहेको बनाइन् । उनले स्वीस लगानीकर्तालाई नेपाल भित्र्याएर नेपालको विकासमा सहयोग पुर्याउने चाहना समेत व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ