विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वास्थ्य सेवालाई आम नागरिकको सहज पहुँच पु¥याउन प्रदेश सरकार नयाँ नीति बनाएर अघि बढ्न लागेको बताएका छन् ।
विराटनगरस्थित न्युरो अस्पतालले सञ्चालनमा आएको अल पावर्ड १२८ सलाइस सिटी स्क्यान र डिस्का स्क्यान सेवाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका ५० लाख जनसङ्ख्यालाई सस्तो सहज र गुणस्तरीय सेवा पु¥याउन सरकार प्रतिबद्ध रहेको बताए ।
उनले स्वास्थ्य सेवा महँगो भएका कारण कतिपय विपन्न समुदायले सहज रूपले स्वास्थ्य सेवा पाउन नसकेकाले स्वास्थ्य सेवामा नयाँ नीति आवश्यक रहेको बताए । स्वास्थ्य सेवालाई सहज र सस्तो बनाउन सकेमा मात्र आम नागरिकमा स्वास्थ्य सेवाको सहज पहुँच पुग्ने उनले बताए ।
उनले स्वास्थ्य विमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मुख्यमन्त्री कार्कीले बिरामीलाई गुणस्तर सेवा प्रदान गर्न न्युरो अस्पतालले सञ्चालनमा ल्याएको उपकरण उपयोगी र प्रभावकारी हुने भन्दै निजी अस्पतालले आम जनताको स्वास्थ्य सेवामा सहज पहुँच हुने गरि सर्वसुलभ रुपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।
उनले कोशी प्रदेशमै विश्वसनीय सेवा प्रवाह गर्दै आएको न्युरो अस्पतालको सेवा प्रभावकारी र गुणस्तर भएकाले अस्पतालले बिरामीको मन जित्न सफल भएको बताए ।
तपाईको प्रतिक्रिया