फिलिपिन्स । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले युद्ध, पर्यावरण र प्राकृतिक विपद जस्ता विश्वव्यापी संकटको सामना गर्न एसियाली देशहरुबीच साझा नीति र प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।
फिलिपिन्सको राजधानी मनिलामा बुधबार ग्लोबल लीडरको प्यानल सत्रमा बोल्दै अध्यक्ष यादवले एसियाली देशहरुको बीचमा साझा कार्यक्रम, नीति र प्रतिबद्धता नभएसम्म विश्वस्तरका संकटहरुको सामना गर्न नसकिने बताएका हुन् ।
सम्मेलनको अन्तिम दिन ग्लोबल लीडर प्यानललाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने,– ’सामाजिक न्याय र मानवअधिकार संरक्षणको हकमा विभेदमा पारिएका जनता नै संकटको भुमरीमा परेका हुन्छन। त्यसका लागि पनि एसियाली देशहरुबीच साझा कार्यक्रम र नीति बन्न जरुरी छ।’
अध्यक्ष यादवले प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ एरा’ बिषयक कार्यपत्र प्रस्तुत गरी लीडर सम्मेलनलाई सम्बोधन गरेका छन् ।
एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई २९ तारिखदेखि आयोजित ग्लोबल लीडरको सम्मेलनमा भाग लिन अध्यक्ष यादव गत असार १३ गते मनिला प्रस्थान गरेका थिए ।
उक्त सम्मेलनमा एसियाको ४१ देशमा प्रतिनिधि नेताहरु सहभागी थिए । जुलाई २९ तारीखदेखि सुरु भएको सो सम्मेलन आज सम्पन्न भएको छ।
जनता समाजवादी पार्टी नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटिको सदस्य रहेको छ । अध्यक्ष यादव भोलि बिहिबार राति १०.३० बजे मलेसिया एयरलाइन्सको विमानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया