पोखरा विमानस्थल छानबिन र नागरिक उड्डयन प्रमुखको बर्खास्तीको माग गर्दै काठमाडौंमा रैली

समाचार

काठमाडौं । राष्ट्रिय एकता अभियानको आयोजनामा माईतिघर मण्डलामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी सत्यतथ्यको छानवीन र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बर्खास्तीको माग गर्दै विशाल रैली सम्पन्न भएको छ।

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा सम्पन्न यस रैलीमा सयौंको संख्यामा नागरिक, विद्यार्थी, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सहभागिता जनाए। रैलीमा पोखरा विमानस्थल चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को हिस्सा नभएको र विमानस्थल निर्माणमा प्राविधिक त्रुटीहरूलाई तुरुन्त समाधान गर्नुपर्ने माग गरियो।

प्रदर्शनकारीहरूले “पोखरा विमानस्थल बीआरआईको भाग होइन”, “प्राविधिक त्रुटीको समाधान गर, चीनको हस्तक्षेप रोक!” जस्ता नारा लगाउँदै विमानस्थलसँग सम्बन्धित विभिन्न मुद्दाहरूमा सरकारको ध्यानाकर्षण गराए। उनीहरूले चिनियाँ राजदूतले माफी माग्नुपर्ने, नेपालमा चीनको भू–राजनीतिक खेल विरुद्ध एकजुट हुनुपर्ने, र पोखरा विमानस्थललाई ऋण जालबाट मुक्त गर्नुपर्ने मागहरू पनि अघि सारे।

रैलीमा सहभागीहरूले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको तस्वीरलाई जलाउँदै उनको बर्खास्तीको माग गरे। उनीहरूले विमानस्थलको निर्माण प्रक्रियामा कुनै पनि प्रकारको भ्रष्टाचार वा अनियमितता भएको भए त्यसको सत्यतथ्य छानबिन गर्न माग राखे।

रैलीलाई सम्बोधन गर्दै यादवले सरकारलाई चीनको हस्तक्षेप रोक्न र राष्ट्रको स्वाधीनता तथा आत्मसम्मानको रक्षा गर्न आग्रह गरे। उनले विमानस्थलको प्राविधिक त्रुटीहरूलाई शीघ्र समाधान गर्न र यो विषयमा चिनियाँ पक्षको हस्तक्षेपलाई अन्त्य गर्न आग्रह गरे।

रैली शान्तिपूर्ण तरिकाले सम्पन्न भएको र सहभागीहरूले आफ्ना मागहरूलाई सरकारसमक्ष पु¥याउने प्रतिवद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ