काठमाडौं । बिमिस्टेक सम्मेलनका लागि पाँच दिने औपचारिक भारत भ्रमण सम्पन्न गरेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी स्वदेश फर्किएका छन् ।
सो क्रममा मन्त्री भण्डारीले भारतीय समकक्षी वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल र पेट्रोलियम एवं प्राकृतिक ग्याँस मन्त्री हरदीप सिंह पुरीसँग भेटघाट गरी द्विपक्षीय हित तथा सम्बन्धका विषयमा छलफल गरेका थिए ।
यसका साथै उनले विसाखापट्टनम पोर्ट र कलकत्ता पोर्टको अवलोकन गरेका थिए । कलकत्तास्थित महावाणिज्यदूतावासको निरीक्षण गरि दूतावासको काम कारबाहीलाई थप प्रभावकारी बनाउन निर्देशन दिए ।
मन्त्री भण्डारीको भारत भ्रमणका बिषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक प्रेस विज्ञप्ती जारि गर्दै भ्रमणको उपलब्धीका बिषयमा जानकारी गराएको छ । विज्ञप्तीमा उल्लेख भए अनुसार २३ साउनमा बिमिस्टेकको सम्बोधन गर्दै मन्त्री भण्डारीले बिमिस्टेकले भू–परिवेष्टित राष्ट्रको समुद्रसम्मको पहुँचको अधिकार सुनिश्चित गर्दै कनेक्टिभिटि, लगानी तथा क्षेत्रीय व्यापार विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिएको बताइएको छ ।
यसैगरी भारतीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलसँगको भेटमा नेपाल भारतबीचका विभिन्न संयन्त्रहरुलाई क्रियाशील बनाउनुपर्ने, अन्तर सरकारी समितिको बैठक चाँडै आयोजना गर्ने, नेपाली निर्यातकर्ताले भोगेका कठिनाइका सम्बन्धमा सहजीकरण गर्ने, भारतले नेपाललाई उपलब्ध गराएको कोटा बमोजिमको खाद्यान्न सीमा क्षेत्रको मूल्यमा उपलब्ध गराउने र खाद्यान्नमा भारत सरकारको तर्फबाट लगाइएको निकासी शुल्क हटाउने विषयमा मन्त्री भण्डारीले जोड दिए ।
भारतका वाणिज्य तथा उद्योग मन्त्री गोयलले कोटा बमोजिमको खाद्यान्न नेपालमा आयात गर्न आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुका साथै नेपाललाई आवश्यक पर्ने सबै प्रकारका खाद्यान्न भारतले उपलब्ध गराउने प्रष्ट पारे ।
साथै, उनले नेपाली निर्यातकर्ताले भोगेका समस्या समाधान गर्ने, द्विदेशीय संयन्त्रहरुलाई क्रियाशील बनाउने, सचिवस्तरीय बैठकलाई उच्च प्राथमिकता दिई छिट्टै आयोजना गर्ने कुरामा आफूले अधिकतम् पहल गर्ने विश्वास दिलाए ।
पेट्रोलियम एवं प्राकृतिक ग्याँस मन्त्री हरदीप सिंह पुरीसँगको भेटमा मन्त्री भण्डारीले पेट्रोलियम पाइपलाइन विस्तार तथा भण्डारण सम्बन्धी पूर्वाधार भारत सरकारको अनुदान सहयोगमा निर्माण गर्ने व्यवस्थाका लागि अनुरोध गरे । निर्माणाधीन आयोजनाहरु समयमा सम्पन्न गर्न सम्बन्धित निकायलाई थप क्रियाशील बनाउने विषयमा समेत छलफल भएको छ ।
पेट्रोलियम मन्त्री पुरीले नेपालको अनुरोधलाई कार्यान्वयन गर्न सकारात्मक प्रयास गर्ने वचनबद्धता व्यक्त गरेका थिए । २४ साउनमा मन्त्री भण्डारी र प्रतिनिधिमण्डलका सदस्य, नेपाल आयल निगमका कार्यकारी निर्देशक तथा प्रशासन विभाग प्रमुख सहितको टोलीले दिल्लीस्थित भारतीय आयल निगमको निरीक्षण गरी त्यहाँको पूर्वाधार तथा सेवा प्रवाह प्रणालीको विषयमा जानकारी लिएको छ ।
सो अवसरमा भारतीय अधिकारीहरुले नेपालको ट्रेड लजिस्टिक खर्च घटाउने विषयमा कार्य भइरहेको र नेपाली प्रतिनिधिमण्डलको अनुरोध बमोजिम उक्त खर्च थप घटाउने विषयमा आफूहरुले कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासका पदाधिकारीहरुसँग छलफल गर्ने बताए ।
तपाईको प्रतिक्रिया