काठमाडौं । भारतको विदेश मामिला मन्त्रालयका सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
परराष्ट्र सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार यहाँ आएका उनलाई सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले बिदाई गरेकी छन् । भ्रमणका क्रममा सचिव मिस्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरी द्विपक्षीय आपसी हित र सहयोगका विविध विषयमा छलफल गरेका थिए ।
यसैगरी उनले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।
भ्रमणको क्रममा दुवै पक्षले नेपाल–भारत सम्बन्धलगायतका समग्र पक्षको समीक्षा गरेका थिए । दुई पक्षबीच ऊर्जा, भौतिक तथा डिजिटल कनेक्टिभिटी, कृषि, पर्यटन, व्यापार तथा पारवहनलगायत विषयमा सहकार्य बढाउने तथा जनता–जनता सम्बन्धलाई सुमधुर बनाउने विषयमा छलफल भएको थियो ।
साथै दुवै पक्षबीच नियमित द्विपक्षीय संयन्त्रमार्फत अगाडि बढ्ने विषयमा सहमति भएको छ ।
तपाईको प्रतिक्रिया