काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि होली सी/भेटिकन सिटीका राजदूत आर्कबिशप लियोपोल्डो जिरेलीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेट गरेका छन् ।
भेटमा शुभकामना आदानप्रदान पश्चात नेपाल र होली सीबीचको द्विपक्षीय सम्बन्धका विविध आयामहरुबारे छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले सन् १९८३ मा दुई मुलुकबिच कूटनीतिक सम्बन्ध स्थापना भए पश्चात रही आएको मैत्रीपूर्ण सम्बन्ध प्रति खुशी व्यक्त गरे । ‘नेपाल र होली सी दुवै विश्व शान्ति, सहिष्णुता तथा वृहत मानव कल्याणका मान्यताहरूमा अटल विश्वास राख्ने मुलुक हुन् ’ उनले भने, ‘शान्तिका अग्रदूत भगवान वुद्धले दिनुभएको शान्ति सन्देश विश्व सामु पुर्याउन नेपालले सरोकारवालाहरूसँग हातेमालो गर्दै आएको छ ।’ उनले होली सी विश्व शान्ति प्रति कटिवद्ध मुलुक भएको सन्दर्भमा हाम्रा दुई मुलुकले यो उद्देश्य हासिल गर्न योगदान दिन सक्ने बताए ।
उपराष्ट्रपति यादवले नेपाल सन् २०२६ सम्म अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने र २०३० सम्म मध्यम आय भएको मुलुक हुने लक्ष्य राखेको उल्लेख गर्दै यो उद्देश्य प्राप्तिका लागि सरकारले लगानी तथा वैदेशिक व्यापारका क्षेत्रहरूमा साझेदारीहरू विस्तार गर्दै लैजाने योजना बनाएको बताए ।
‘हाम्रा दुई मुलुकबिच अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन, साना मुलुकहरूको मुद्दा, आपसी सद्भाव तथा हरित विकास जस्ता क्षेत्रमा थप सहकार्यका सम्भावनाहरू रहेका छन्’ उनले भने, ‘दुई देशबिचको सम्बन्धलाई थप मजबुत बनाउँदै आगामी दिनमा द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा आपसी हितलाई सुनिश्चित गर्नको लागि हामी होली सीसंग सहकार्य गर्न तयार छौ । ’
उपराष्ट्रपति यादवले महामहिम पोप फ्रान्सिस समक्ष उनको सुख र सुस्वास्थ्यका लागि शुभकामना सन्देश प्रेषित गरिदिन आग्रह गर्दै त्यहाँका मित्रवत जनताका लागि शान्ति एवम् समृद्धिको शुभकामना समेत व्यक्त गरे ।
राजदूत आर्कबिशप लियोपोल्डो जिरेलीले नेपाल र होली सी दुवै मुलुकको शान्ति, सहअस्तित्व र भ्रातृत्व साझा मूल्यमान्यता रहेको उल्लेख गर्दै दुवै देश मानव अस्तित्वलाई सम्मान गर्दै आएको बताए ।
‘मलाई नेपालको वातावरण असाध्यै मन पर्छ ’ उनले भने, ‘नेपालको हिमाल तथा पर्वत शृंखलाहरु विश्वका थुप्रै पर्यटकहरुलाई आकर्षणको केन्द्र हुन् । ’ उनले नेपाल आफ्नो घर जस्तो लागेको उल्लेख गर्दै यहाँका नागरिक बलिया र कडा परिश्रमी भएकोमा खुशी र सम्मान व्यक्त गर्दछु ।
तपाईको प्रतिक्रिया