सप्तरी । जिल्लाको रूपनगरमा ‘रूपनगर सर्वोदय पुस्तकालय’ नामक सार्वजनिक पुस्तकालय सञ्चालनमा आएको छ ।
रूपनगर नन्दराज संग्रौला क्याम्पस परिसरमा स्थापना गरिएको सो सार्वजनिक पुस्तकालयको उद्घाटन उच्च अदालत राजविराज इजलासका न्यायाधीश अर्जुन अधिकारीले आइतबार एक समारोहमा गरेका छन् ।
करीब पाँच हजार भौतिक पुस्तकका साथै केही हजार ’अफ लाइन’ इ–पुस्तक राखेर आरम्भ गरिएको रूपनगर सर्वोदय पुस्तकालयमा आधा दर्जन विश्व स्तरीय ’अनलाइन’ पुस्तकालयमा समेत पहुँच कायम गरिएको जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिए ।
पुस्तकालयको उद्घाटन गर्दै न्यायाधीश अधिकारीले पठन संस्कृति हराउँदै गएको हाम्रो समाजमा पढ्ने र अनुसन्धान गर्ने बानी बसाल्न यो पुस्तकालयले मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
हाल अमेरिकाको टेक्सास बस्ने इञ्जिनियर विजयराज भट्टराईको आर्थिक संयोजन तथा सहयोगमा रूपनगर सर्वोदय पुस्तकालय स्थापना गरिएको जानकारी प्राध्यापक गजुरेलले दिए । नेपाली भाषा, साहित्य र संस्कृति नै प्रवासमा नेपालीको पहिचान हो भनेर टेक्सासमा नेपालीहरूद्वारा सञ्चालित ’ग्लोबल नेपाली पाठशाला’ मा करिव ६ वर्ष प्रिन्सिपलका रूपमा नेतृत्व गरेका भट्टराईले टेक्सासका समाजसेवीहरूको सहयोगमा ’सर्वोदय फाउण्डेसन नेपाल’ स्थापना गरी मानव सेवा गर्दै आएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिबिएस पढाइ हुने सप्तरी जिल्लाको रूपनगर स्थित रूपनगर नन्दराज संग्रौला क्याम्पसमा पुस्तकालय स्थापना तथा सञ्चालनका लागि इञ्जिनियर विजयले झण्डै १३ लाख रूपिञा सहयोग गर्नु भएको जानकारी क्याम्पसले दिएको छ । अध्ययन, अनुसन्धान समाज विकासको जग हो भन्ने मान्यता राख्नु हुने भट्टराईले पुस्तकालय सञ्चालनका लागि दुई वर्षसम्म निरन्तर सहयोग समेत गरेका छन् ।
पुस्तकालय उद्घाटन समारोहलाई अमेरिकाबाट एक सन्देश पठाउँदै भट्टराईले ’यो सार्वजनिक पुस्तकालयले हाम्रो अध्ययन संस्कृतिमा मद्दत पुग्ने र हाम्रो यो प्रयास अरूका निमित्त प्रेरणा पनि बन्न सकोस्’ भन्ने चाहना व्यक्त गरे ।
सप्तरी जिल्लामा एउटै पनि सार्वजनिक पुस्तकालय सञ्चालनमा नरहेको अहिलेको अवस्थामा रूपनगर सर्वोदय पुस्तकालय विविध विषयमा अध्ययन अनुसन्धान गर्नेहरूका लागि गहकिलो स्रोत केन्द्र बन्ने अपेक्षा गरिएको छ । ’पत्रपत्रिका, कम्प्यूटर, र इण्टरनेट समेतको सुबिधा उपलब्ध हुने पुस्तकालय रूपनगरमा मात्र होइन, सप्तरीको यो भेगकै लागि गौरव हुने’ विश्वास क्याम्पस सञ्चालक समिति अध्यक्ष गिरिराज संग्रौलाको छ ।
बिहान क्याम्पसका विद्यार्थी र शिक्षकले प्रयोग गर्ने यो पुस्तकालय अपराह्न तीन घण्टा सार्वजनिक उपयोगका लागि खुला रहने छ । प्रयोगकर्ताका लागि पुस्तकालयमा सदस्यता प्रणाली लागू गरी पुस्तक घर लगेर पढ्न पाउने व्यवस्था समेत हुने जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिए । तर सदस्य नबनेकाले पनि पुस्तकालय प्रयोग गर्न पाउने छन् ।
आठ हजार भन्दा वढी पुस्तक क्षमताको उक्त पुस्तकालयमा सवै उमेर, वर्ग, विषय, तह र पेशाका पुस्तकहरू राखिएका छन् । दैनिक तथा मासिक पत्रपत्रिका, इन्टरनेट र कम्प्युटर सुविधा सहितको यो पुस्तकालयको निर्माण हाल अमेरिकाको टेक्सास निवासी इञ्जिनियर विजयराज भट्टराईको आर्थिक संयोजनमा गरिएको कुरा प्राध्यापक गजुरेलले बताए ।
पुस्तकालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन गुप्ताले नगरपालिकाले यस वर्ष एउटा सार्वजनिक पुस्तकालयका लागि वजेट छुट्याएको जानकारी दिए । रूपनगर क्याम्पस र यो पुस्तकालयलाई समेत सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
उक्त अवसरमा एक्मी इञ्जिनियरिङ कलेजका प्रिन्सिपल प्राध्यापक इ. प्रदीप पौड्याल, कञ्चनरूप नगरपालिकाका पुर्व नगर प्रमुख बसन्त मिश्र, तिलगंगा आँखा केन्द्र रूपनगरका डा. असिम छुस्याबाग लगायतले पुस्तकालयले हाम्रो गाउँमा पढ्ने बानी बसाल्ने आशा व्यक्त गरेका छन् ।
उक्त अवसरमा पाँच जना विद्यार्थीहरूलाई ’क्याम्पस छात्रवृत्ति’ हस्तान्तरण गरिएको थियो ।
रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्रमुख प्राध्यापक गजुरेलले क्याम्पस र पुस्तकालय बारे जानकारी दिँदै सञ्चालन गरेको कार्यक्रमको सभापतित्व क्याम्पस सञ्चालक समितिका अध्यक्ष गिरिराज संग्रौलाले गरेका थिए ।
तपाईको प्रतिक्रिया