नेपाल र भातरबीचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरें : परराष्ट्रमन्त्री

समाचार

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबीचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताएकी छन् ।

भारतको चार दिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको आफूले विश्वास लिएको बताएकी हुन् ।

मन्त्री डा राणाले भनिन् “भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरू समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबद्र्धन गर्न मार्गदर्शन समेत गरेको मैले विश्वास लिएको छु ।”

उनले भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा गत आइतबार नयाँ दिल्ली गएको र नेपाल र भारतको उच्चस्तरीय भ्रमण आदानप्रदानको कार्यक्रम अनुसार नै यो भ्रमण भएको जानकारी गराउँदै भारतका प्रधानमन्त्री र विदेशमन्त्रीसँग सौहार्दपूर्ण रुपमा भेटवार्ता भएको तथा ती भेटमा नेपालको हित र चासोका साथै आपसी हितका विविध विषयहरूमा कुराकानी भएको जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ