काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले चाडपर्वमा हुन सक्ने कालोबजारी र कृतिम अभावलाई रोक्दै अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।
त्यस्तै अस्वाभाविक मूल्यवृद्धिलाई रोक्न मन्त्रालय र मातहतबाट हुने गरेको बजार अनुगमनलाई प्रभावकारी बनाउँदै सुपथ मूल्य पसलहरूको विस्तार गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति अब्दुल खानले जानकारी दिएका छन् ।
समितिले देशका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा तीनै तहका सरकारबीच समन्वय नदेखिएकाले अनुगमनसम्बन्धी कार्यमा तीन तहको सरकारबीच समन्वयका लागि आवश्यक कानुन, जनशक्ति र बजेट लगायतको विस्तृत कार्ययोजना तयार गरि समितिमा पेस गर्न पनि निर्देशन दिएको उनले बताए ।
त्यस्तै बैठकले अनुगमनलाई प्रभावकारी बनाउनका लागि अहिले देखिएका समस्या समाधानको उपायसहितको जानकारी समितिलाई गराउन निर्देशन दिएको सभापति खानले जानकारी दिए ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको बजार प्रभावित हुनसक्ने कारणप्रति सरकार सजक रहेको भन्दै सहज रूपमा आपूर्ति गर्नका लागि सरकार गम्भीर रहेको बताए । उनले अहिले ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया