जनकपुरधाम । धनुषाका सरकारी कार्यालयहरुको बेतिथी यस्तो छ कि, एकजना सेवाग्राही जग्गा रजिस्ट्री गर्ने अदालतको आदेश लिएर ७ महिनादेखि दैनिक रुपमा मालपोत कार्यालय, जनकपुरधाम जान्छन् । मुद्दा फांटदेखि हाकिमसँग भेट्छन् अनि भोलि आउनु, अर्को हप्ता आउनु, कर्मचारी आएको छैन, हेर्दै छु जस्तो जवाफ सुनेर सर्वसाधारण दिक्क भएपछि पत्रकार, समाजिक कार्यकर्तादेखि नेतासम्म गुहार्न पुग्छन् ।
यसै क्रममा सर्वसाधारण आफ्नो गुनासो लिएर राष्ट्रिय मुक्ति क्रान्तिका नेता राजीव झा कहाँ पनि जान्छन् । नेता झासँग पनि मालपोत हाकिम बिष्णु प्रसाद सिटौलाको कुरा हुन्छ, हुने काम हो भने गर्दिनु हुने होइन भने फाइल फिर्ता पठाइदिनु, यसरी दैनिक दौडाउन हँुदैन, घुस नदिकन काम नहुने हो ? भन्ने जानकारी दिन धनुषाको प्रमुख जिल्ला अधिकारीलाई दिन खोज्दा प्र.जि.अ.को फोन उठ्दैन ।
केही छिन पछि मालपोत हाकिमलाई फोन गर्दा म काम पनि गर्दिन केही लेखेर पनि दिन्न, तपांई सक्नु हुन्छ भने मेरो सरुवा गराइदिनुस् भन्ने रुखो जवाफ दिन्छन् ।
अनि नेता झाले सरुवा गर्ने निकाय म होइन सेवाग्राहीको काम गर्नुस् भन्दा, प्रमुख जिल्ला अधिकारी कहाँ पुगि मलाइ नेता झाले धम्काए भन्न पुग्छन्।
प्रमुख जिल्ला अधिकारीले सेवा प्रदायकको मात्र एकतर्फी कुरा सुनेर नेता झालाई फोन गरेरै धम्काउँछन्, तपाईंलाई २४ घन्टा भित्रा थुन्दिन्छु भन्दै तथानाम गाली गर्छन् ।
जिल्लाका प्रमुख प्रशासकीय अधिकारीको रुपमा रहेका धनुषाका प्र.जि.अ रामुराज कडरीयाले सेवाग्राहीको पीरमर्का सुन्नुको सट्टा जिल्लाभरिबाट अवैध रकम असुल गर्ने एजेन्टको रुपमा काम गरि प्र.जि.अ. पदको गरिमा नै घटाइदिएका छन् ।
सिडियोले सेवाग्राहीको काम नगर्ने कार्यालय प्रमुखलाई कारवाहीको सिफारिश गर्नुको सट्टा एक प्रतिष्ठित राजनीतिकर्मीलाई धम्क्याउनु र २४ घन्टाभित्र थुनिदिन्छु, तपाईं काठमाडौंमै भए काठमाडौंबाटै ल्याएर थुन्छु भन्नु गैरमर्यादित सिडियोबाट शक्तिको दुरुपयोग गर्ने र मानव अधिकार उल्लंघन गर्ने कुचेष्टा देखिन आयो ।
मधेश प्रदेशको राजधानीसमेत रहेको धनुषा जस्तो जिल्लामा परिपक्व प्र.जि.अ. को खटन हुन र अत्यन्तै निकृष्ट व्यवहारमा बारम्बार उत्रिरहने निज प्र.जि.अ. रामुराज कडरिया उपर यस घटना समेत बारे तत्काल छानवीन गरि कानुनी कार्वाइ हुनु पर्छ ।
केही दिन अगाडि सिडियोले मौखिक आदेशमा विशुद्ध सामाजिक भाव राख्ने क्लोथ बैंकको कार्यालय खाली गर्न भनेको र नमानेकोले नेता झामाथी सिडोयोले दुराग्रह राखेको स्थानीयहरुको बुझाई छ ।
मालपोतका “काम बाँकी“ फायलहरुको समेत तत्काल छानवीन गरि विचौलियाबेगर काम नहुने प्रवृत्तिलाई निरुत्साहित नगरिए सेवाग्राहीहरु क्षण भरमै आन्दोलित हुने अवस्था धनुषामा विद्यमान छ ।
तपाईको प्रतिक्रिया