प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा नवनिर्मित भवनहरू उद्घाटन

समाचार

रूपन्देही । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत तथा भान्साघर लगायतका भवनहरूको एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

साथै उनले उक्त नवनिर्मित भवनहरूको अवलोकन, अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण तथा कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका हुन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरुलाई प्रशंसा–पत्र समेत प्रदान गरे ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नागरिकको सुरक्षाका लागि मुलुकका विभिन्न स्थानहरूमा विद्यमान चुनौतीहरूको सामना गर्दै हर प्रहर ड्युटीमा तैनाथ रहने प्रहरी कर्मचारीहरूलाई आवश्यक सुरक्षा मापदण्ड सहितको सुविधा सम्पन्न कार्यालय र आवासको व्यवस्था गर्नु संगठनको उच्च प्राथमिकता रहेको उल्लेख गर्दै नव–निर्मित संरचनाहरूले प्रहरी काम कारवाहीलाई थप व्यवसायिक बनाउने विश्वास व्यक्त गरे ।

प्रहरीलाई आफ्नो बोली व्यवहारमा शिष्टता ल्याउन, आफ्नो काम कारबाही इमान्दार र पारदर्शी भई कार्यसम्पादन गर्न निर्देशन दिँदै उनले भने, ‘नेपाल प्रहरी संगठन आम नेपाली नागरिकहरूको आशा र भरोसाको केन्द्र हो । यो संगठनको पवित्र उद्देश्य निस्वार्थ राष्ट्र र नागरिक सेवा हो । यस पवित्र मन्दिरमा बसि छद्मा भेषमा कोही कसैलाई अपवित्र काम, आचरण र व्यवहार गर्ने छुट छैन । त्यस्ता गलत प्रवृत्तिहरूले आफूले गरेको गलत कार्यको नतिजा तत्कालै भोगेका छन् र भोग्ने छन् । सहि र गलतको मूल्यांकन नागरिक समाजले गरेको छ र संगठनले पनि अवस्य गर्नेछ ।’

प्रहरी महानिरीक्षक कुँवरले नवनिर्मित भवन नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत सम्पत्ति भएको चर्चा गर्दै प्रहरी र जनताबीचको समन्वय र सहकार्यले अपराध रोकथाम तथा अनुसन्धान थप प्रभावकारी हुने बताए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ र रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक रंजित सिंह राठौरले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. रोशन सारूमगरले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल सरकारको नियमित बजेटबाट कुल १४ करोड ९६ लाख ९४ हजार ५ सय ९१ रूपैयाँको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।

उद्घाटन समारोहमा जिल्लाका विभिन्न पालिकाका प्रमुखहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ