काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले तयारी पोशाक निर्यात र हस्तकला क्षेत्रमा रहेका नीतिगत समस्याका सम्बन्धमा छलफल गरेको छ ।
समितिका सभापति अब्दुल खानको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा वाणिज्य तथा आपूर्तिका सचिव तथा निवेदनकर्ता संस्थाका प्रतिनिधिहरूसँग छलफल गरिएको जनाइएको छ ।
तयारी पोशाक निर्यात तथा हस्तकला क्षेत्रमा रहेका नीतिगत तथा समग्र अवस्थाका वारेमा छलफल गर्दा यस सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भन्सार विभाग, नेपाल राष्ट्र बैंक, बीमा समिति, लगायतका पदाधिकारी सहित आगामी बैठकमा थप छलफल गर्ने निर्णय भएको समितिका सभापति खानले जनाएका छन् ।
यसैगरी, समितिको २०८१/४/३ गते बसेको बैठकबाट “चुरोटमा प्रयोग हुने. फ्लेवर क्यापसुल तथा ट्याबलेटहरू जस्ता नशालु पदार्थहरूका कारण क्यान्सर जस्तो गम्भिर रोगबाट जनस्वास्थ्यमा असर हुने गरेकोले यस्ता पदार्थहरूको उत्पादन, आयात तथा प्रयोगमा निरुत्साहित गर्न नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने,“ बमोजिमको निर्णय भएकोमा उक्त निर्णयबाट नेपालका चुरोट उद्योगहरूले कच्चा पदार्थको रुपमा प्रयोग गर्ने फ्लेवरहरू ल्याउन कठिनाइ भएको र चुरोट उद्योगहरू बन्द हुने अवस्था पुगेको भनी नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघको मिति २०८१/४/३० गतेको पत्र प्राप्त भएको जनाइएको छ ।
यसैगरी, उक्त पत्रमा संलग्न गरिएको भन्सार विभाग, प्रयोगशाला शाखाको पत्र अनुसार Gorkha Lahari Pvt.Ltd., Nepal वाट आयातित Tobacco Flavouring मालवस्तुको नमूना परीक्षण गर्दा उक्त मालवस्तु Propylene Glycol(98% Mujor Component) H Vanillin (1.5%), ethyl vallin (0.7%), caramel र न्यून मात्रामा Caffeine मिली बनेको Food Additive पाइएको तथा Tobacco Flavouring भनि घोषित उक्त वस्तुमा भएका घटकहरूको मात्र विश्लेषण गर्दा, उक्त मालबस्तु बासनाका लागि मात्र नभई सुर्तिलाई सुख्खा हुन नदिने, Texture र Color maintain गर्ने र चुरोटका धुँवा राम्रोसँग आउने बनाउने कार्यमा प्रयोग हुने उल्लेख भएकोले चुरोट उत्पादनमा प्रयोग हुने Tobacco Flavouring को आयातमा उक्त निर्णय लागू नहुने भनी सम्बन्धित निकायलाई जानकारी दिने बैठकबाट निर्णय भएको हो ।
साथै, समितिको अर्को बैठक पछि सूचना भएपछि बस्ने गरी शुक्रबारको बैठक स्थगित गरिएको हो ।
तपाईको प्रतिक्रिया