राकेश यादव, रौतहट । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रह्मपुरी निवासी मानसी कुमारी सिंह आँखा सुरक्षा सम्बन्धी प्रतियोगितामा प्रथम भएकी छन् ।
परोहा नगरपालिका र तराई टप अनलाइनको संयुक्त आयोजनामा गरिएको आँखा सम्बन्धी यु ट्यूब डिजिटल क्वीज कन्टेस्ट प्रतियोगितामा १५ वर्षीया सिंह प्रथम स्थान हासिल गरेकी हुन् ।
मानवको अमूल्य अंगको रुपमा रहेको आँखालाइ कसरी सुरक्षित राख्ने भन्ने विषयमा भिडिओमार्फत सचेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगिताको नतीजामा रौतहटकी छोरी सिंहले पहिलो हुन सफल भएकी हुन् ।
आयोजक समितिले जनचेतनामूलक क्वीज प्रतियोगिताको सार्वजानिक गरेको नतीजा अनुसार नेपाल डिजिटल एजुकेशन प्रालि वीरगंजमा अध्ययनरत रहेकी सिंह प्रथम, पर्सा जिल्ला वीरगंज महानगरपालिका १६ घर भई त्रिजुद्ध महादेव प्रसाद रघुवीर राम टेक्नोलॉजी सेकेंडरी स्कुल वीरगंजमा अध्यनरत प्रकाश कुमार राउत दोस्रो स्थान प्राप्त गरेका छन् ।
खुल्ला प्रतियोगितामा महोत्तरी जिल्ला मनरा सिसवा नगरपालिका वडा नम्बर २ निवासी मोनास्टिक इंटरनेशनल एकेडमी जनकपुरधाममा अध्ययनरत आर्य पाण्डेय तेस्रो, मोनास्टिक इंटरनेशनल एकेडमी गौर रौतहटका समूहगत भिडिओ चौथो तथा महर्षि बाल्मीकि आवासीय माध्यमिक विद्यालय गौरका अनीसा कुमारी यादव पाँचौ स्थान हासिल गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिता आयोजना गर्ने आयोजक समितिले गएको साउन ८ मा आँखाको सुरक्षा सम्बन्धी छोटो भिडिओ बनाएर भाद्र ७ गते बेलुका ५ बजेसम्म पठाउनु पर्ने सार्वजनिक गरेको सूचनाअनुसार प्रतियोगीहरुले आँखा स्वास्थ्य सम्बन्धी छोटो जनचेतनामूलक भिडियो बनाएर पठाएका थिए ।
सहभागीहरुले पठाएको २७६ वटा भिडिओ सामाजिक संजाल यु ट्यूबमा भदौ ८ गते उपलोड गरिएकोमा सबैभन्दा बढी भएको भियुवरको आधारमा गरिएको नतीजा प्रकाशनमा मानसी सिंह पहिलो विजेता बनेको संयोजक सतेन्द्र पाण्डेयले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया