काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले नेपालको संविधान २०७२ जारी भएको दिन असोज ३ गते कालो दिवस मनाउने भएको छ ।
राष्ट्रिय मुक्ति क्रान्तिका नेता सन्तोष मेहताले नश्लीय र विभेदकारी संविधानको विरोधमा देशव्यापीरुपमा विरोधस्वरुप कालो दिवस मनाउने, ब्ल्याक आउट गर्ने र जुलुस प्रदर्शन गर्ने बताएका हुन् ।
‘मधेशी जनताको टाउको र छातीमा नश्लीय शासकवर्गले गोली ठोकेर यो संविधान जारी गरेको हो,’ नेता मेहताले मधेशवाणीलाई भने, ‘यो संविधानलाई केही मुठ्ठिभर शासकले आफ्नो लागि मात्र बनाएका हुन् । आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु लगायत हिमाल र पहाडका उत्पीडित नागरिकले समेत यो संविधानको विरोध गरेका छन् ।’
राष्ट्रिय मुक्ति क्रान्तिले वर्तमान संविधानमा संशोधन गरी सबै नेपालीले अपनत्व महसुस हुने संविधानका लागि दबाबमूलक कार्यक्रम गर्ने उनले बताए ।
नेता मेहताले भने, ‘विश्वकै उत्कृष्ट संविधान बनाएकाहरु नै अहिले संशोधनको कुरा गरिरहेका छन् । यिनीहरुकै लागि यो संविधान घाँडो भएको छ ।’
उनले अहिलेसम्म नेपालमा ६ वटा संविधान असफल भइसकेको र यसलाई संशोधन वा परिमार्जन नगरिए यो सातौं संविधान पनि खारेज हुने दाबी गरे ।
तपाईको प्रतिक्रिया