उपराष्ट्रपतिबाट पलेशा सम्मानित

समाचार

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पेरिस पारालिम्पिक्स २०२४ मा नेपालका लागि पहिलोपटक कांस्य पदक विजेता पलेशा गोवर्धनलाई लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार विशेष समारोहमा सम्मान गरेका छन् ।

‘पलेशाले देशको नाम उच्च राख्नु भएकोमा सम्पूर्ण नेपाली खुशी छौं’ उनले भने, ‘पलेशाले नेपालका लागि इतिहास रच्दै विश्वभरि छरिएर रहेका नेपालीहरुलाई गौरवान्वित हुने सुनौलो अवसर प्रदान गर्नुभएको छ ।’

उपराष्ट्रपति यादवले पलेशाको यो ऐतिहासिक सफलता उनको अथक परिश्रम, दृढ संकल्प, उत्कृष्ट प्रदर्शन तथा समर्पणबाटै प्राप्त भएको बताए । ‘यसका लागि पलेशालाई हार्दिक धन्यवाद दिन चाहन्छु’ उनले भने, ‘पलेशाको यो अद्वितीय उपलब्धि र सफलतामा महत्वपूर्ण योगदान दिने सम्पूर्ण सहयोगी हातहरु, मन्त्रालय, प्रशिक्षक, खेल पदाधिकारीसहित सम्पूर्ण व्यक्तित्वलाई पनि धन्यवाद छ ।’

उनले पलेशाको अतुलनीय योगदानले सिंगो नेपाल र नेपाली समाजलाई असीम गर्वको सुखानुभूति गराएको बताए । ‘यो सफलता नेपालका सबै खेलाडीका लागि प्रेरणादायी छ ’उपराष्ट्रपति यादवले भने, ‘हामीलाई गर्व छ– हाम्रो देशमा पलेशा जस्ता प्रतिभाशाली खेलाडीहरु छन्, जसले अन्तर्राष्ट्रियस्तरमा हाम्रो पहिचानलाई शिखरमा पुर्याउँदै त्यसलाई थप बलियो र सुदृढ बनाईरहेका छन् । पलेशाको सफलता उहाँको मात्र नभई सिंगो मुलुकको सफलता हो ।’

उपराष्ट्रपति यादवले पलेशाको यात्रा निरन्तर प्रगति र सफलताको पथमा अग्रसर रहोस् भन्ने शुभेच्छा पनि व्यक्त गरे । उनले भने, ‘पलेशाको महत्वपूर्ण उपलब्धि, योगदान र सफलताका लागि हार्दिक बधाई तथा उज्जवल भविष्यको मंगलमय कामना गर्दछु ।’

यो विशेष समारोहमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव, पलेशाका प्रशिक्षकसहित उपराष्ट्रपतिको कार्यालय तथा निजी सचिवालयका कर्मचारीहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ