राकेश यादव, रौतहट । प्रादेशिक अस्पताल गौरका प्रमुख मेडिकल सुप्रिटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले आत्महत्याको घटना बढ्नुको मुख्य कारण डिप्रेसन रहेको बताएका छन् ।
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा संचारकर्मीसंग कुरा गर्दै डाक्टर ठाकुरले एक्लोपन र बढी अपेक्षाको कारण मानिस डिप्रेसनको शिकार भएर आत्महत्याको अन्तिम बिन्दुमा पुग्ने गरेको बताएका हुन् ।
उनले बेरोजगÞारी, अपेक्षा अनुसारको सफलता नपाउनुको कारण व्यक्ति डिप्रेसनको शिकार हुने गरेकोले आत्महत्याको घटना दिनप्रति दिन बढ्दै गएको बताए ।
पहिला समूहमा बसेर एकअर्का बीच छलफल गर्ने गर्थे भन्दै अहिलेको समयमा एक्लो परिवार भएर कामको बढी चाप भएको कारण डिप्रेसनमा जाने गरेको बताए । उनले कुनै किसिमको चिन्ता मस्तिक्समा आएको बेला कसैलाई नभनी एक्लै चिंतन गर्नेले यस्तो अवस्था आउने जनाए ।
मोबाइलको कारण पनि भर्चुअलि तनाव उत्पन्न हुने गरेको उल्लेख गर्दै कुनै किसिमको मानसिक तनाव भएमा नजिकका साथी, मित्र, घरपरिवारका सदस्यसँग आदान प्रदान गर्नु पर्ने सुझाव दिए ।
डाक्टर ठाकुरले मानसिक रुपमा स्वास्थ्य रहनको लागि शारीरिक व्यायामको साथै सामाजिक रुपमा समूहगत रुपमा बेला बेलामा छलफल गर्नु पर्ने उल्लेख गरे ।
मनमा चिन्ता भएको बेलामा कसैलाई नभनी एक्लै समाधान गर्ने प्रयास गर्ने कारणले डिप्रेसनमा जाने र आत्महत्याको बाटो रोज्ने गरेको उहाको भनाइ रहेको छ ।
बढ्दै गएको आत्महत्याको घटनाले चिंतित बनाएको भन्दै डाक्टर ठाकुरले आत्महत्याको घटना न्यूनीकरण गर्नको लागि व्यापक रुपमा गाउ समाज शहर टोलमा प्रचार प्रसार गर्नु पर्ने आवश्यक रहेको बताए ।
स्थानीय तहले गाउ गाउँमा छलफल चलाउनु पर्ने जोड़ दिदै कुनै किसिमको चिन्ता तनाव भएको खण्डमा प्रादेशिक अस्पताल गौरमा प्रत्येक महीनाको दोस्रो हप्तामा आउने मानसिक रोग विशेषज्ञ संग राय सलाह लिन अपील समेत गरे ।
प्रादेशिक अस्पताल गौरमा डिप्रेसनको शिकार भएकालाइ मनोविमर्श गर्ने तालीम प्राप्त चिकित्सक रहेको र औषधि प्रदेश सरकारले निशुल्क दिने व्यवस्था गरेकोले लाभ लिन आग्रह गरेका छन ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गएको आर्थिक वर्षमा १९० वटा आत्महत्याको घटना भएको जनाएको छ । प्रहरी नायव उपरीक्षक एलिजा गिरीका अनुसार पुरुष ८० , महिला ६८ जना , बालिका ३५ जना र बालक ७ जना गरी आर्थिक बर्ष २०८०÷०८१ मा १९० जनाले आत्महत्या गरेको हो ।
आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१ अनुसार जिल्ला प्रहरी कार्यालयको सहकार्यमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति, जिल्ला स्तरीय आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदल समिति, पालिका स्तरीय आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदल समिति र वड़ा स्तरीय आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदल समिति गठन गरिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया