राजदूत नियुक्ति खारेजको माग गर्दै जसपा नेपालले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

समाचार

राकेश यादव, रौतहट । जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

पार्टीको निर्धारित कार्यक्रमअनुसार मधेश प्रदेशको ८ वटै जिल्लामा एकै साथ ज्ञापन पत्र बुझाइएको हो।

नेपाल सरकारले नियुक्ति गरेका १८ देशका राजदूत नियुक्ति संविधानको मर्म भावना तथा विभिन्न आन्दोलनकारी पक्षसँग समय–समयमा भएको सम्झौताको खिल्ली उडाएकोले बदर गर्न माग गर्दै प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाइएको जसपा नेपालका रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवले बताएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी नरेश यादवलाई बुझाइएको ज्ञापन पत्रमा सरकारले गरेको राजदूत नियुक्ति अविलम्ब खारेज गरी समानुपातिक समावेशीको आधारमा सबै समुदाय र क्षेत्रको प्रतिनिधित्व हुनेगरी पुनः नियुक्ति गर्न जोडदार रुपमा माग गरिएको छ।

वर्तमान सरकारले एउटै समुदाय र जातका व्यक्तिलाई राजदूतमा नियुक्ति गरेर एकल जातीय राज्य बनाउने दुःसाहस गरेको आरोप लगाएको छ ।

समावेशी सिद्धान्तको आधारमा राज्यको हरेक अंग, तह र निकायमा मधेशी, जनजाति, दलित, महिला, थारु, मुस्लिम, पिछडावर्ग लगायतका समुदायको समानुपातिक समावेशी सिद्धान्तमा आधारित संवैधानिक अधिकारको पालना गर्नु पर्नेमा सो विपरीत नेपाल सरकारले असमावेशी असंवैधानिक राजदूत नियुक्ति गरेको जिकिर जसपा नेपालको रहेको छ।

२०६४ भाद्र १३ गते तत्कालीन मधेशी जनाधिकार फोरम नेपाल र नेपाल सरकार बीच भएको २२ बुँदे सम्झौता तथा २०६४ फाल्गुन १६ मा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र नेपाल सरकार बीच भएको ८ बुँदे सम्झौताअनुसार सरकारले राज्यका सम्पूर्ण संरचनाहरुको सबै अंग र तहका साथै शक्ति साधन र स्रोतमा सन्तुलित समानुपातिक प्रतिनिधित्व गर्नु पर्नेमा अहिले नेपाल सरकारले गरेका १८ देशका राजदूत नियुक्तिमा सम्झौता विपरीत रहेकोले खारेज गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

त्यस्तै मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा मधेश कृषि विश्वविद्यालय राजविराज र मधेश विश्वविद्यालय वीरगंजलाई पर्याप्त बजेट विनियोजन गर्न माग गरिएको छ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा विनियोजन गरिएको १० लाख बजेट जग हसाउने कार्य भएको टिप्पणी गरिएको हो।
ज्ञापनपत्र बुझाउने क्रममा जसपा नेपालका विश्वनाथ पटेल, किरण ठाकुर, वीरेन्द्र यादव, राजकुमार दास तत्मा, जयराम महतो, विद्यार्थी नेता ललन यादव, पुनित पटेल, आशिष लामासहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ