उपराष्ट्रपति यादवसँग दक्षिण कोरियाली राजदूत पार्कको शिष्टाचार भेट

समाचार

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताएयोङ्गले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

भेटमा शुभकामना आदान प्रदान पश्चात द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, लगानी, पर्यटन, श्रम तथा रोजगार लगायतका महत्वपूर्ण विषयमा छलफल भएको हो ।

उपराष्ट्रपति यादवले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता घनिष्ट र मैत्रीपूर्ण सम्बन्ध रही आएको बताए । ‘हाम्रा द्विपक्षीय सम्बन्ध आपसी सम्मान, समझदारी एवम् सहयोगमा आधारित छन्’ उनले भने, ‘यस वर्ष नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सव महत्वपूर्ण कोसेढुङ्गाको रूपमा मनाइरहेका छौँ । यस मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवर्द्धन गर्न हामी तत्पर छौँ ।’

उपराष्ट्रपति यादवले ‘एभरेष्टिङ्ग फ्रेन्डसिप ः नेपाल–कोरिया ५०औँ वार्षिकोत्सव’ नारासहितको लोगो अनावरण हाम्रा लागि गौरवको विषय भएको बताउनु भयो । ‘नेपालको सामाजिक तथा आर्थिक विकासका लागि गणतन्त्र कोरिया एक महत्वपूर्ण तथा भरपर्दो विकास साझेदारका रूपमा रहेको छ । कोरियाले अन्तर्राष्ट्रिय विकास सहयोग नियोग ‘कोइका’ मार्फत विभिन्न क्षेत्रमा गरेको प्राविधिक सहयोग तथा जनशक्ति विकासमा पुर्याएको योगदान हाम्रा लागि महत्वपूर्ण छन्’ उनले भने, ‘हामी यो विकास साझेदारीलाई कनेक्टिभिटी, पूर्वाधार विकास, ऊर्जा, व्यापार, पर्यटन, लगानी र जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा अझ विस्तृत र गहन रूपमा अगाडि बढाउन प्रतिबद्ध छौँ ।’

उपराष्ट्रपति यादवले नेपाल सन् २०२६ मा अल्पविकसित मुलुकको समूहबाट स्तरोन्नतिका लागि प्रयासरत रहेको सन्दर्भमा कोरियाको तीव्रतर सामाजिक–आर्थिक विकास र सोको अनुभवबाट हामी लाभान्वित हुन चाहेको बताए ।

‘सहज र दिगो स्तरोन्नतिका लागि विकास साझेदारका साथै विश्वसनीय मित्रको रूपमा रहेको गणतन्त्र कोरियाको साथ हामीलाई सदाझैँ निरन्तर रहनेमा हामी पूर्ण विश्वस्त छौँ’ उनले भने, ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रमुख स्रोत मुलुकहरूमध्ये गणतन्त्र कोरिया एक हो ।

कोरियाली कम्पनीहरु सामसुङ र हुन्डेले नेपालमा लगानी गरेर ‘मेड इन नेपाल’ टेलिभिजन सेट उत्पादन गर्न सुरु गरेको र गाडी उत्पादन गर्न लागेकोमा हामी खुशी छौँ ।’

उपराष्ट्रपति यादवले अगाडि भने, ‘गौतम बुद्धको जन्मभूमि एवं सगरमाथा तथा हिमश्रृखलाको देश नेपाल मन पराउने एवं बौद्धमार्गी कोरियालीहरूको संख्या उल्लेख्य छन् । हाम्रो सांस्कृतिक एवं धार्मिक समानता एवं पदयात्रा, पर्वतारोहणजस्ता क्षेत्रमा कोरियालीहरूको रूचि रहेको हुँदा नेपालमा कोरियाली पर्यटकको सङ्ख्या वृद्धि गर्ने प्रचूर सम्भावना छ । यसका लागि महामहिमले आवश्यक पहल गर्नुहुनेछ भन्ने विश्वास छ ।’ उनले वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरूका लागि कोरिया एक राम्रो तथा आकर्षक गन्तव्य रही आएको उल्लेख गर्दै भने, ‘नेपाल–गणतन्त्र कोरियाबीचको रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया सरकारले नेपाललाई प्राथमिकता दिएकोमा धन्यवाद दिन चाहन्छु ।’

दक्षिण कोरियाली महामहिम राजदूत पार्क ताएयोङ्गले नेपालमा सामसङ, हुन्डे लगायतले आफ्नो उत्पादन शुरु गरेसंगै अन्य कोरियाली कम्पनीहरु पनि यहाँ लगानी गर्न चाहेको बताए ।

‘नेपालको किसानलाई स्मार्ट फार्मिङको माध्यमबाट कृषिमा हुने नोक्सान न्युनिकरणमा सहयोग गर्न कोरिया ईच्छुक छ’ उनले भने, ‘इपीएस मार्फत् कोरिया गएर फर्केकाहरुका लागि उनीहरुको सीप नेपालमै प्रयोग गराउनमा पनि केरियाको सहयोग रहनेछ ।’ राजदूत पार्कले नेपाल शान्तिप्रिय देश भएकोमा खुशी समेत व्यक्त गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ