यौन शोषणको आरोपित वडा अध्यक्षको राजीनामाको माग

समाचार

राकेश यादव, रौतहट । रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ९ सोनरनियाका स्थानीयहरुले शोषणको आरोप लागेका वडा अध्यक्षलाई कारबाहीको माग गर्दै शुक्रबार बिरोध प्रदर्शन गरेका छन् ।

गाउँकै एक दलित समुदायकी महिलालाई विभिन्न प्रलोभन देखाइ पटक पटक यौन शोषण गर्दै आएका सोही वडाका वडा अध्यक्ष श्याम किशोर साहको राजीनामाको माग गर्दै स्थानीयहरुले शुक्रबार दिउँसो प्रदर्शन गर्दै वडा अध्यक्षको कार्यकक्षमा तालाबन्दी समेत गरेका हुन् ।

स्थानीयहरुले प्लेकार्डसहित् सोनरनिया गाउँभरी परिक्रमा गरी साहको विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

स्थानीयहरुले महिलालाई यौन शोषण गर्ने वडा अध्यक्ष श्याम किशोर साह राजीनामा दे, चरित्रहीन गुण्डा वडा अध्यक्ष चाहिदैन, वडा अध्यक्ष साहलाई पक्राउ गर सरकार जस्ता नारा लगाएका थिए ।

केही दिन अघि मात्र सोनरनिया गाउँकै दलित समुदायकी एक विवाहित महिलाले वडा अध्यक्ष साहमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन् ।

आफुलाई विवाह गर्ने आश्वासन दिएर वडा अध्यक्ष साहले विगत ५ वर्षदेखि यौन शोषण गरेको र अहिले विवाह गर्न नमान्दा आफू ठूलो समस्यामा परेको भन्दै ती महिलाले न्यायको माग गरेकी थिइन् ।

यौन शोषणको घटना सामाजिक संजालमा सार्बजनिक भएपछि मौलापुर नगरपालिकाले यस घटनाबारे सत्यतथ्य बुझी दोषीलाई कारबाही गर्न भन्दै यहि भदौ ७ गते उपमेयरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

नगरपालिकाले विज्ञप्ति नै जारी गरि भदौ ७ गतेदेखी १५ दिन भित्रमा छानबिन गरि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको थियो तर नगरपालिकाले प्रतिवेदन सार्वजनिक गर्न दिएको १५ दिनको समय समाप्त भएपनि अझै प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन ।

नेकपा माओवादी केन्द्रको टिकटबाट रौतहट क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका सांसदका प्रत्याशी धिरज पटेलले मौलापुर नगर प्रमुख रिना देवि साहले प्रतिवेदन सार्वजनिक नगरि दोषी वडा अध्यक्ष साहलाई कारबाही गर्नुको सट्टा जोगाउन खोजेको आरोप लगाएका छन् ।

१५ दिन भित्रमा नगरपालिकाले सत्य तथ्य बुझी दोषी वडा अध्यक्षलाई कारबाही गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको तर १५ दिन बितिसक्दा पनि पालिकाले अझै प्रतिवेदन सार्वजनिक नगर्नुले नगर प्रमुख साहले वडा अध्यक्ष साहलाई कारबाही गर्ने पक्षमा नरहेको कुरा आफ्नो बुझाइ रहेको नेता पटेलले बताए ।

गरिव दलित समुदायकी विवाहित महिलालाई प्रेमको नाटक गरि पटक पटक यौन शोषण गर्ने वडा अध्यक्षलाई कार्यवाही गर्ने कि नगर्ने, जनताको काम गर्नुको सट्टा अनैतिक काम गरि समाजमा खल्ल पुर्याउने दोशी वडा अध्यक्षलाई कार्यवाहि गर्ने कि जोगाउने, प्रतिवेदन सार्वजनिक गर्ने कि नगर्ने भनी पटेलले क्षेत्र नम्बर ३ का सान्सद एवं आम जनता पार्टिका अध्यक्ष प्रभु साह र उनकै श्रीमती मौलापुर नगर प्रमुख रिना साह संग प्रश्न गरेका छन् ।

नगर प्रमुख साहले सत्ताको दुरुपयोग गरि पीडित महिलालाई न्याय दिलाउनुको सट्टा उल्टै दोशी वडा अध्यक्ष साहलाई जोगाउन खोजेको दावी गरे ।

नगरपालिकाले प्रतिवेदन सार्वजनिक गरि दोशी वडा अध्यक्ष साहलाई कार्यवाही नगरेसम्म आफुले साहको कार्यकक्षमा लगाएको ताला नखोल्ने र यो भन्दा पनि कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानीयहरुले चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ