काठमाडौं । नवगठित दल राष्ट्रिय मुक्ति क्रान्ति नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले शहीदको वार्षिकी रहेको दिन कसरी संविधान दिवस स्वीकार गर्न सकिने भनी प्रश्न गरेका छन् ।
अध्यक्ष महतोले संविधान दिवसको अवसरमा एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘२०७२ असोज ३ गते संविधान जारी भै रहदा एकातिर हर्ष उल्लास मनाइ रहदा अर्को तिर मधेशी वीर सहिदको छातीमा गोली ठोकिएको थियो त्यसकारण आधा देशमा ब्ल्याक आउट गरिएको थियो। अर्थात अहिलेको संविधान रक्तरंजित संविधान हो ।’
पूर्वउपप्रधानमन्त्री समेत रहेका महतोले अहिलेको संविधान रक्तरंजित रहेकोले यसलाई संशोधन गरेर नहुने अब पुनर्लेखन नै गर्नुपर्ने बताएका हुन् ।
‘आज हाम्रो अस्तित्व अस्विकार गरेको दिन, हक अधिकार खोसिएको दिन, सहिदहरुको अपमान गरिएको दिन, शान्तिपूर्ण आन्दोलन अस्वीकार गरेको दिन, सहिदको वार्षिकी रहेको दिन त्यसकारण कसरी संविधान दिवस स्वीकार गर्न सकिन्छ ? नौ वर्ष अगाडि हामीले भनेको मुद्दा सिमाङ्कन हेरफेर, नागरिकताको समस्या समाधान, समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, राष्ट्रियसभामा जनसंख्याको आधारमा प्रतिनिधित्व, विभिन्न राष्ट्रिय भाषामा सरकारी कामकाज, अविशिष्ट अधिकार प्रदेशलाई, स्थानीय तह दलविहिन, परिभाषामा सवै राष्ट्रियता समेट्नु पर्ने, अधिकार सम्पन्न प्रदेश, प्रस्तावना सच्याउनु पर्ने लगायत कैयौं माग मुद्दा संविधानमा राख्न आग्रह गरेका थियौं । तर सबै मुद्दा हरुलाई बेवास्ता गर्दै संविधान जारी गरियो र भनियो यो दुनियाको उत्कृष्ट संविधान हो । तर त्यही संविधान जारी गर्ने पक्षले आज संशोधनको कुरा अपरिहार्य भन्दै छन। तर अब संशोधन गरेर मात्र पुग्ने स्थिति छैन । त्यसकारण संविधान पुनर्लेखन हुनु आवस्यक छ।’ उनले भनेका छन् ।
अहिलेको एकल राष्ट्रिय राज्यको चरित्रलाई बदलेर नेपाललाई बहुलराष्ट्रिय राज्यको रुपमा घोषणा गर्नु आवस्यक भै सकेको दाबी गर्दै उनले पश्चिमा औपनिवेशीक ज्ञान प्रणालीबाट मुक्त भै पुर्वीय दर्शनको आधारमा स्वदेशी ज्ञान प्रणाली लागु गरिनु आजको प्रमुख कार्यभार भएको बताए ।
स्वदेशी ज्ञान प्रणालीको मर्म अनुरुप सामुदायिक समाजवादी व्यवस्थाले मात्रै अर्थतन्त्रमा तीब्र सुधार ल्याउन सक्ने भएकोले स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको मार्गनिर्देशक सिद्धान्त अहिलेको संविधानमा नसमेटिएसम्म हाम्रो विरोध जारी रहि रहनेछ र असोज तिन कालो दिनकै रूपमा यस दिनलाई सम्झिने बताए ।
तपाईको प्रतिक्रिया