जनकपुरधाम । संविधान दिवसलाई कालो दिन मनाउने क्रममा तराई–मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र प्रहरीबीच जनकपुरधाममा झडप भएको छ ।
बिहीबार बेलुकी जनकपुरधामको जनकचोकमा संविधान जारी गर्दा मधेश आन्दोलनकारीहरुमाथि भएको दमन र प्रतिगमनको प्रतीकको रुपमा पुतला दहन गर्न खोज्दा तमलोपाका कार्यकर्ता र प्रहरीबीच छिनाझपटी र झडप भएको तमलोपाका प्रचार प्रसार विभाग प्रम्ख उमेश मण्डलले बताएका हुन् ।
बिहीबार बिहान तमलोपाका कार्यकर्ताहरुले स्थानीय भानुचोकमा कालो झण्डा गाडेर संविधान र मधेश आन्दोलनको क्रममा भएको दमनको बिरोध गरेका थिए ।
“असोज ३ को दिन जारी भएको संविधानको घोषणा मधेश आन्दोलनकारीहरुको रगत र लाशमाथि उभिएर दमनचक्र चलाउँदै गरिएको हो । त्यसकारण यो दिन हाम्रो निमित्त कालो दिन हो र रहिरहन्छ ।“ तमलोपाको नेता बिभा ठाकुरले बताइन् ।
कार्यक्रमको संयोजक इश्वर पण्डितले भने, “मधेश र मधेशीको निमित्त यो कालो दिन नै हो । यस दिनलाई हामी सदैव कालो दिनकै रुपमा मानिरहने छौं र हामीमाथि भएको दमनको स्मरण गराइ रहने छौं ।”
कार्यक्रममा तमलोपाका नेताहरु असगर अली, जोगी राय, रामजी राय, भोला झा, बिन्द ठाकुर, बिमला साह, ब्रजकिशोर सिंह, सुभाष कर्ण, रमेश अधिकारी, भगिरथ लाल, जयनाथ नायक, नबीन सिंह, आदि नेताहरुका साथै दर्जनौं कार्यकर्ताहरुको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया