राकेश यादव, रौतहट । जिल्लाको राजपुर नगरपालिकाको वडा नम्बर ४ लाई सील गरिएको छ ।
आसोज २ गतेदेखि हैजा डायरियाको प्रकोप दिनप्रति दिन बढ्दै गएकोले संक्रमण नियन्त्रण गर्नका लागि जिल्ला प्रशासन कार्यालय रौतहटले सो वडाको सील गरेको हो ।
राजपुर नगरपालिकाको आग्रहमा महामारी रोग रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले वडा नम्बर ४ जोबैर चौकदेखि मदनी चौक, शेख अब्दुल्लाहको खलिहान देखि डाक्टर नुरुल होदाको घरसम्म वरिपरिको क्षेत्र असोज ६ गते देखि अर्को आदेश नआएसम्मको लागि सील गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
असोज २ गते १ जनामा डायरिया देखिएकोमा ६ गतेसम्म ६२ जना संक्रमित भइसकेकोले महामारी नियन्त्रण गर्नको लागि वडा नम्बर ४ लाई सील गरिएको बताइएको छ ।
तोकिए बमोजिमको क्षेत्रहरुमा स्थानीय तहको स्वास्थ्य शाखा प्रमुखको अनुमति बेगर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मी र अतिआवश्यक अत्यन्त जरुरी काम बाहेक कुनै पनि व्यक्तिहरूको हिँडडुल गर्ने र एक अर्काको घरमा आवत जावत गर्न प्रतिबन्ध लगाइएको छ ।
अतिआवश्यक सेवा बाहेकका सवारी साधनलाई आवागमनमा सो अवधिभरिका लागि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको विज्ञप्तिमा सील गरिएको क्षेत्रमा माछा मासु ओसार पसार र बिक्री वितरणमा रोक लगाइएको छ ।
डायरियाको संक्रमणको कारण अहिले यकिन साथ पुस्टि हुन नसकेकोले राजपुर नगरपालिकाका नगर प्रमुख डाक्टर राजिक आलमले व्यक्तिगत सरसफाईमा ध्यान दिन आग्रह समेत गरेका छन् ।
नगर प्रमुख डाक्टर आलमका अनुसार ६२ जना विरामी मध्ये ४० जना उपचार पछि घर फर्किसकेका छन् भने २२ जनाको राजपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया