काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष विजय कुमार यादवसहित दुई दर्जनभन्दा बढी केन्द्रीय नेताहरु राजेन्द्र महतो नेतृत्वको नवगठित पार्टी राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित भएका छन् ।
उपाध्यक्ष यादवसहित २६ जना केन्द्रीय नेताहरु एक विज्ञप्ति जारी गरी राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित भएको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अत्यन्त पीडाबोधका साथ हामीले अत्यन्तै मिहेनत गरि बनाएको नागरिक उन्मुक्ति पार्टीबाट अलग हुने निर्णयमा पुगेका छौं । नागरिक उन्मुक्ति पार्टी स्थापना हुनु भन्दा अगाडि देखि नै पार्टीको विभिन्न स्वरुपमा सक्रियपुर्वक सुरुदेखि साथ दिइरहेका हामीले पार्टीभित्र देखा पर्न थालेको सांगठनिक एवम् सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर भएपनि पार्टी बनाउने अठोटका साथ हिडेका हामीले गलत तत्वहरु नसुध्रिने छाँटकाँट नदेखेपछि यो अप्रिय निर्णय लिन बाध्य भएका हौं ।’
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा शीर्ष तहमा विभिन्न जिम्मेवारीमा रहेका केन्द्रिय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको, सैद्धान्तिक वैचारिक पथमा विचलन आई व्यक्तिवादी प्रवृत्ति हावी भएको ठहर गर्दै नेतृत्वले पार्टीलाई प्राइभेट लिमिटेड सम्झी आफ्नै विरासत सम्झिने गरेको गुनासो ती नेताहरुको छ ।
‘हामीलाई पहिचान सहितको संघीयता, संघीय लोकतान्तित्रक गणतन्त्र नेपालको संस्थागत विकास र समाजवादी आन्दोलनको मूल प्रवाहबाट पृथक रहने छुट छैन भन्ने कुराको समेत हामीले महसुस गरेका छौं । अहिले मुलुकले बहुल राष्ट्रिय राज्य स्थापना सहितको समाजवादी राजनीतिक नेतृत्वका साथ सही राजनीतिक कार्यक्रम, राजनीतिक कार्यदिशा दिनसक्ने विचारको खोजी गरिरहेको समेत हामीले महसुस गरिरहेका छौं ।’ विज्ञप्तिमा भनेका छन् ।
२६ जना केन्द्रीय नेताहरुले विज्ञप्तिमा ‘बहुल राष्ट्रिय राज्य स्थापना सहित समृद्ध मधेश तथा समृद्ध देश निर्माणका लागि हामीले आवश्यक छलफल गरि नयाँ हिसाबले अगाडी बढी श्री राजेन्द्र महतोको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीमा समाहित भएका छौं ।’ उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया