भ्रस्टाचार गर्ने उद्देश्यले गोप्य टेण्डर गर्दै

समाचार

राकेश यादव, रौतहट । जिल्लाको यमुनामाई गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सीताराम यादवले गाउँपालिका भ्रस्टाचारको अखाडा बन्दै गएको बताएका छन् ।

बुधबार वडा कार्यालयमा संचारकर्मीसँग कुरा गर्दै वडा अध्यक्ष यादवले गाउँपालिका अध्यक्ष मोहमद सउद भने ईर्सादको कारण गाउँपालिका भ्रस्टाचारमा डुब्दै गएको आरोप लगाएका हुन् ।

गएको भाद्र ५ गते गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षले मिलेर गरेको गोप्य टेण्डरको विषयमा चर्चामा आएको यमुनामाई गाउँपालिकामा भ्रस्टाचारको केन्द्र बिन्दु नै बनेको हो ।

गएको आर्थिक वर्षको जडान नै भएको बोरिङ्गको भुक्तानी गर्नका लागि चालू आर्थिक वर्षमा व्यवसायीसँग मिलेर गोप्य टेण्डर गरिएको उनले दावी गरेका छन् ।

गोप्य टेण्डर गरिएको विषय सार्वजनिक हुँदा जानकारी पाएर गाउँपालिका अध्यक्ष इर्शादसँग सोध्दा त्यस्तो नभएको जवाफ दिएको बताउँदै वडा अध्यक्ष यादवले कार्यपालिका बैठकमा अनुमोदन गराउन ल्याउँदा गोप्य टेण्डर गरिएको यथार्थ थाहा पाएको सुनाए ।

गोप्य गरिएको टेण्डर रद्द गरी सार्वजनिक गर्न अडान लिएर पछि कार्यपालिका बैठकबाट सो टेण्डर पास नभएको बताए ।

जनताको आवश्यकता, आकांक्षा अनुरूप काम नगरी आफ्नो आर्थिक रुपमा फाइदा लिने उद्देश्यले काम गर्न लागेका अध्यक्षलाई जनताले नछोड्नेको भनाइ रहेको छ ।

कर्मचारी नियुक्ति, इन्धन खर्च, दिवा खाजामा अनियमितता भैरहेको विषयमा आफूहरु खुल्लेयाम विरोध जनाइरहेको बताउँदै वड़ा अध्यक्ष यादवले भ्रस्टाचारको विषयमा छानविन गरी कारबाही गर्न सम्बन्धित निकायमा उजुरी गर्दा पनि कुनै चासो नदेखाएको गुनासो गरे ।

शिक्षा, स्वास्थ्य र कृषिमा लगानी गर्न जोड दिँदा पनि गाउँपालिका अध्यक्षले फाइदा नदेखेपछि आनाकानी गर्ने गरेको आरोप लगाए । सरकारी गाडीको दुरूपयोग गर्ने अध्यक्ष इर्शादले वडाको विकास निर्माणको बजेट विनियोजनमा पनि विभेद गर्ने गरेको उल्लेख गरे ।

हाकिम, लेखपाल र अध्यक्ष मिलेर विद्यालयमा जाने दिवा खाजामा पनि कमिसन लिने गरेको दावी गरे । विद्यालयमा उपस्थित नहुने विद्यार्थीको पनि हाजिरी प्रमाणित गरेर बढी रकम निकासा गराउने र प्राध्यानध्यापकसँग बढी भुक्तानी भएर रकम फिर्ता लिने गरेको बताए ।

सूचनाको हकÞ प्रयोग गरी सूचना माग गर्दा गाउँपालिका अध्यक्षले गरेको ८ बुँदे सहमति अहिलेसम्म कार्यान्वयन समेत नगरेकोले भ्रस्टाचार गर्ने नियत राखेर अगाडी बढिरहेको गाउँपालिका अध्यक्षको विरुद्ध संघर्षमा उत्रिने चेतावनी समेत दिए ।

विकास निर्माणको योजना कार्यान्वयन गर्न समावेशिता, पारदर्शिता अपनाउन पटक–पटक आग्रह गर्दा पनि अध्यक्षले कुनै चासो नदेखाएको बताउँदै भ्रस्टाचारको बढाबा दिने गाउँपालिका अध्यक्ष लगायत संलग्न कर्मचारी जनप्रतिनिधि माथि छानविन गरी कार्यवाही गर्न सम्बन्धित निकायसँग जोड़दार माग गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ