राकेश यादव, रौतहट । गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहको चौतर्फी रुपमा विरोध हुन थालेको छ ।
रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा कार्यरत महिला चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई लक्षित गरी असोज ८ गते जारी गरेको विज्ञप्तिलाइ लिएर मेयर साहको तीव्र आलोचना भइरहेको हो ।
महिलाहरुको पर्व हरितालिका तीजको दर खाने कार्यक्रममा प्रादेशिक अस्पताल गौरको सभाहलमा अस्पतालका चिकित्सक कर्मचारीहरुले आयोजना गरेको कार्यक्रममा महिला स्वास्थ्यकर्मीहरुले गरेको नाच गानको विषय लिएर असोज ८ गते महिला स्वास्थ्यकर्मीहरु माथि लक्षित गर्दै लिखित रुपमा अभद्र टिपण्णी गरेको कारण नगर प्रमुख साहप्रति महिला स्वास्थ्यकर्मीहरु आक्रोशित भएका हुन् ।
गएको भाद्र १९ गतेमा भएको कार्यक्रमलाई लिएर मेयर साहले करीव २० दिन पछि जारी गरेको विज्ञप्ति महिला स्वास्थ्यकर्मी, चिकित्सक तथा कर्मचारीहरुको व्यक्तिगत अधिकारको कुंठित गर्ने उद्देश्य रहेको महिलाहरुको ठहर रहेको छ ।
तीज पर्व महिलाहरुको पर्व रहेकोले आयोजना गरिएको दर खाने कार्यक्रममा नाच गान गर्नु निजी तथा व्यक्तिगत स्वतन्त्रता रहेकोले मेयर साहले लिखित रुपमा पछि जारी गरेको विज्ञप्ति अस्मिता माथिको खेलवाड़ रहेको भन्दै आपत्ति समेत जनाएको छन् ।
मेयर साहले जारी गरेको बिज्ञप्तिको १७ औ हरफमा दर खाने कार्यक्रमलाइ तीज पर्वको नाममा अभद्र क्रियाकलाप सञ्चालन गरेको उल्लेख गरिएको छ ।
विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय र संघ सस्थामा कार्यरत रहेका महिला कर्मचारीहरुले तीजको पर्वमा दर खाने कार्यक्रम आयोजना गरिने गरेकोमा सोही क्रममा अस्पतालमा कार्यरत महिला कर्मचारीहरुले आयोजना गरेको दर खाने कार्यक्रम कुन तरिकाले अभद्र क्रियाकलाप भएको भनी प्रश्न समेत गरेका छन् ।
मेयर साह जिम्मेवार पदमा भएर पनि महिलाको अधिकारलाइ हनन गर्ने सोचले विज्ञप्तिमा यस्तो शव्द प्रयोग गरेको भन्दै टिपण्णी गरेका हुन् ।
प्रादेशिक अस्पताल गौरमा कार्यरत महिला स्वास्थ्यकर्मीले मेयर साहले जारी गरेको विज्ञप्तिमा प्रयोग गरेका शव्दको बिषयमा माफी नमागेमा विरोधमा संघर्षमा उत्रिने समेत चेतावनी दिएका छन् ।
तपाईको प्रतिक्रिया