बाढी प्रभावित क्षेत्रमा माधव नेपालले फोटो सेसन गरे : पूर्वराज्यमन्त्री यादव

समाचार

राकेश यादव, रौतहट । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं रौतहट निर्वाचन क्षेत्र नम्बर १ को ख प्रदेश सभाको प्रत्यासी योगेन्द्र राय यादवले रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माधव कुमार नेपालले आफ्नो क्षेत्र बाढी प्रभावित क्षेत्रमा राहत सामग्री दिनुको सट्टा फोटो सेसन गर्नमा व्यस्त रहेको बताएका छन् ।

बाढी आएको ५ दिनपछि आफ्नो निर्वाचन क्षेत्रमा आएका नेकपा एकीकृत समाजवादी पार्टीका केंद्रीय अध्यक्ष समेत रहेका नेपालले आफ्नो कार्यकर्ता, प्रहरीको लाबालस्कर लिएर पीडितसँग भेटघाट नगरी फोटो खिचाउने कार्य मात्र गरेको टिप्पणी गरेका हुन् ।

रौतहटको सदरमुकाम गौरमा बिहीबार संचारकर्मीहरुसँग कुरा गर्दै पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री यादवले बाढीबाट आहत भएका जनतालाई केही दिनु पर्नेमा सो नगरी आफ्नो कार्यकर्ताको समूह लिएर प्रभावित क्षेत्रमा अनुगमन निरीक्षणको नाउँमा फोटो सेसन गर्दै फर्किएको आलोचना गरे ।

रौतहटमा विकास गरेको झूठ प्रचार गर्ने पूर्वप्रधानमन्त्रीसमेत रहेका सांसद नेपालले शिलान्यास गरेका बडहरबास्थित बागमती नदीको पुल अधुरो र जुद्ध उच्च माध्यमिक विद्यालयको छात्रबास निर्माण हुँदै कालोसूचिमा परेको टिपण्णी गरे ।

देशको प्रधानमन्त्री भएर पनि आफ्नो क्षेत्रमा विकास गर्न नसकेको नेताले विकास गरेको भन्नु जनतालाई झुक्याउने बाहेकको केही नभएको बताए ।

पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइराला, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जिल्लामा गरेको विकास निर्माणका कार्यको अवलोकन गर्न समेत उनले सांसद नेपाललाइ सुझाव दिए ।

निर्वाचित जनप्रतिनिधि प्रदेश सांसद कृष्ण प्रसाद यादव र नागेन्द्र साह जनताको विचमा विपदको बेला पनि नगएको बताए । बाढी पीडितको दुःख देखेर आँखा रसाउने गरेको भन्दै यादवले जनप्रतिनिधिको कार्य देखेर पीडितहरु आक्रोशित समेत भएको उल्लेख गरे ।

पूर्वकृषि राज्यमन्त्री यादवले गौर गंगा पिपरा सडक निर्माणको ठेक्का लिएका प्रदेश सांसद साहका निर्माण कम्पनी साह निर्माण सेवाले निर्माण गर्ने अवधि समाप्त भइसक्दा पनि सडक निर्माण गराउन नसकेको आरोप लगाए ।

असोज १२ गते आएको बाढीले प्रभावित भएका स्थानीय तहको निरीक्षण गर्न सांसद नेपाल असोज १६ गते आफ्नो निर्वाचन क्षेत्रमा आएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ