काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल परियोजना लागत नेरु. ३.००१ करोड आर्थिक सहयोगमा निर्माण गरिएको तनहुँको आँबूखैरेनी गाउँपालिकास्थित आँबूखैरेनी क्याम्पसको भवन उद्घाटन गरिएको छ ।
भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति, तनहुँका प्रमुख शान्तीरमण वाग्ले र तनहुँको आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, क्याम्पस व्यवस्थापनका प्रतिनिधि, प्राध्यापक÷प्राध्यापिका, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग आँबूखैरेनी क्याम्पसलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले क्याम्पस भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, तनहुँमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख, आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र क्याम्पस व्यवस्थापन समितिका अध्यक्षले आ–आफ्नो मन्तव्यमा प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानका लागि भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए ।
आँबूखैरेनी क्याम्पस सन् २००५ मा स्थापना भएको हो । यो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस हो । क्याम्पसले स्नातक तहमा ब्याचलर अफ बिजनेस स्टडीज (बिबिएस) र ब्याचलर अफ एजुकेशन (बिएड) विषयहरु अध्यापन गराउँदै आएको छ । क्याम्पसमा करिब ३०० जना विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ९०% छात्राहरु रहेका छन् ।
नेपालको तनहुँस्थित आँबूखैरेनी क्याम्पसका विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा सुविधा प्रदान गर्न नवनिर्मित संरचना उपयोगी हुनेछ । साथै सिकाइको राम्रो वातावरण सिर्जना गरी यस क्षेत्रको शिक्षाको विकासमा योगदान पु¥याउँनेछ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।
तपाईको प्रतिक्रिया