काठमाडौं । भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, पीभीएसएम, एभीएसएमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
जनरल उपेन्द्र द्विवेदीले प्रधानमन्त्री ओलीसँग सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका हुन् । उक्त भेटवार्तामा उनीसँगै भारतीय राजदूत, भारतीय रक्षा सहचरी तथा प्रतिनिधिमण्डलका अन्य सदस्यहरु सहभागी थिए ।
जनरल उपेन्द्र द्विवेदीले आफूले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गर्न पाउनु सौभाग्यको कुरा भएको बताए । उनले दुवै देश तथा सेनाबीचको उत्कृष्ट द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने विषयमा पनि छलफल गरे ।
भारत र नेपालबीचको व्यापक सैन्य तथा द्विपक्षीय सम्बन्धका बारेमा विचार आदानप्रदान गर्न जनरल उपेन्द्र द्विवेदीले नेपालका माननीय रक्षामन्त्रीसँग पनि शिष्टाचार भेटवार्ता गरे । जनरल उपेन्द्र द्विवेदीले हामी सबै मिलेर दुई देशबीचको रक्षा सम्बन्धलाई थप सुदृढ गर्दै नयाँ उचाइमा पु¥याउनुपर्ने कुरामा जोड दिए ।
प्रधानमन्त्रीसँग भेटवार्ता गर्नु अघि भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले शिवपुरीस्थित नेपाली आर्मी कमाण्ड एण्ड स्टाफ कलेजको भ्रमण गरेका थिए ।
नेपाली सेनाको सैनिक तालिम महानिर्देशनालयका उपरथी ध्रुवप्रकाश शाह तथा नेपाली सेनाको आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका कमाण्डेन्टले उनलाई न्यानो स्वागत गरेका थिए । जनरल उपेन्द्र द्विवेदीले आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका विद्यार्थी अफिसरहरुलाई सम्बोधन गरेका थिए ।
तपाईको प्रतिक्रिया