मोरङ । विराटनगरमा लैङ्ंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा हामी सबैको प्रतिबद्धता, लैङ्ंगिक हिंसा अन्त्यका लागि प्रतिबद्धता भन्ने राष्ट्रिय मूल नाराका साथ बालबालिकाहरुका बीच बुधबार वक्तृृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ ।
प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय ग्रामथानकी जानुका राजवंशीले प्रथम स्थान, सोही विद्यालयका दिनेश खत्रीले द्वितीय स्थान र जनपथ माध्यमिक बिद्यालय विराटनगरकी अप्सना दाहालले तृतीय स्थान हासिल गरेका छन् ।
मानव अधिकारका लागि महिला एकल महिला समूह कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रममा प्रथमलाई प्रदेश सांसद गयानन्द मण्डलले, द्वितीयलाई इन्सेक अधिकृत मनोहर पोखरेलले र तृतीयलाई सामुदायिक सेवा केन्द्र तीनपैनीकी अध्यक्ष मीना जोशीले पुरस्कार वितरण गरेकी हुन् ।
कार्यक्रममा कोशी प्रदेश सभाका सदस्य एवम् सामाजिक विकास समितिका सभापति गयानन्द मण्डलले सरोकारवालाहरुको बृहत छलफलबाट आएको रायसुझावका आधारमा प्रदेश घरेलु हिंसा सम्बन्धी ऐन पुनरावलोकन भइरहेको जानकारी दिए । उनले महिलाहरुलाई सबै पालिकाहरुमा संगठित बनेर स्थानीय तहसँग बजेट माग्न र जागरण अभियानलाई ग्रामिण भेगसम्म पु¥याउन जोड दिए ।
जनता जागरुक नभएसम्म संवैधानिक हक अधिकार र सुशासनको प्रत्याभूति नहुने र मानव अधिकारको सम्मान, परिपालना र बहाली सुनिश्चित नहुने भएकाले सबैको योगदानको आवश्यक्ता रहेको प्रदेश सांसद मण्डलले बताए ।
इन्सेक अधिकृत मनोहर पोखरेलले संविधान, कानुनले महिलालाई विशेष व्यवस्था र सुविधा दिएपनि कार्यान्वयन हुन नसक्दा वास्तविक रुपमा महिलाले त्यस्को उपयोग गर्न नपाएको बताए ।
महिलाले हाँस्न र पुरुषले रुन नपाउनेलगायतका विभेदयुक्त सामाजिक मान्यता भत्काउन जरुरी रहेको उनले बताए । मानव अधिकार सुदृढ र सशक्त बनाउन अन्तर्राष्ट्रिय महासन्धी, राष्ट्रिय ऐन, कानुन भए पनि कार्यान्वयनमा उदासिनता, सरोकारवाला समुदायमा सूचना र पहुँचको कमी तथा प्रभावकारी कार्यान्वयन हुन नसक्नु मुख्य चुनौती रहेको पोखरेलले बताए ।
कार्यक्रममा गैसस महासंघकी सहसचिव बागमती कट्टेल, विराटनगर महानगरपालिकाकी अधिकृतहरु सन्ध्या श्रेष्ठ, सुशिला अधिकारी, शिक्षकहरु खोलु चौधरी, ब्युटी श्रेष्ठले मन्तव्य राखेका थिए ।
एकल महिला समूहकी अध्यक्ष चुडा भट्टराई रेग्मीको अध्यक्षता र गीता पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा समूहकी सचिव चन्दा श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् ।
तपाईको प्रतिक्रिया