राकेश यादव, रौतहट । जिल्लामा मङ्सिर १६ गते भएको उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।
आइतवार राती अबेरसम्म सम्पन भएको मतगणनाको मत परिणाम अनुसार २ वटा वडामा नेपाली कांग्रेस र एउटा वटामा नेकपा एसका उम्मेदवार निर्वाचित भएका हुन् ।
रौतहटको राजपुर नगरपालिका वड़ा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार जिकरूल्लाहलाइ पराजित गर्दै कांग्रेसका उम्मेदवार समसे आलम २८१ मतले विजयी भएका हुन् ।
आलमको पक्षमा ७४४ मत परेको थियो भने माओवादी केन्द्रका उम्मेदवार जिकरूल्लाहको पक्षमा ४६३ मत तथा नेकपा एमालेका उम्मेदवार मोहम्मद नसीम अख्तरको पक्षमा ४३१ तथा जनमत पार्टीका उम्मेदवार कयामुद्दीन धुनियाको पक्षमा ४५ मत परेको छ ।
२०७९ को निर्वाचनमा कांग्रेसका उम्मेदवार ६३ मतले विजयी भएका थिए । २०८१ को उपनिर्वाचनमा कांग्रेसले सोही वडामा २८१ मतले जित हासिल गर्न सफल भएको छ ।
ईशनाथ नगरपालिका वडा नम्बर ७ मा नेकपा एमालेका उम्मेदवारलाइ पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार अब्दुल खालिकले ५४ मतले निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
२०७९ नेकपा एमाले निर्वाचित भएको ठाउँमा २०८१ को उपनिर्वाचनमा कांग्रेसले बाजी मारेको हो । कांग्रेसका उम्मेदवारको पक्षमा ६२७ मत, नेकपा एमालेका उम्मेदवार शेख अनवरको पक्षमा ५७५, नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार सदरे आलमको पक्षमा ४५२, जनमत पार्टीका जमीरुल हकÞको पक्षमा १३५, नेकपा माओवादी केन्द्रका उम्मेदवार शेख अमीरुललाई २४ मत परेको थियो ।
नेपाली कांग्रेसका मधेश प्रदेश सभापति एवं पूर्वमन्त्री कृष्णा यादवको गाउँ गढीमाई नगरपालिका वडा नम्बर ८ मा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाइ पराजित गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका बजरंगी प्रसाद यादव भन्ने प्रमोद यादव २४ मतले बिजयी भएका छन् ।
नेकपा एमालेका उम्मेदवार जिउति देवी यादवको पक्षमा ६३१ मत परेको थियो भने नेकपा एसका उम्मेदवारलाइ ६५५ मत खसेको थियो ।
नेपाली कांग्रेसका सुबोद यादवको पक्षमा ६१७, जनता समाजवादी पार्टीका सन्देश यादवको पक्षमा २५८ तथा जनमत पार्टीका उम्मेदवारको पक्षमा ८ मत परेको थियो ।
निर्वाचित भएको वडा अध्यक्ष निधन भएपछि रिक्त भएको पदमा भएको उपनिर्वाचनमा रौतहट तीन स्थानीय तहको तीन वटा वडामा चुनावी प्रतिस्पर्धा उत्रिएका डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवारको जमानत जफत भएको छ । ईशनाथमा १३५, राजपुर नगरपालिकामा ४५ र गढीमाई नगरपालिका ८ मा ८ मत पाएको छ ।
नेकपा एमालेले खाता खोल्न सकेन भने उपेन्द्र यादवको नेतृत्वको जनता समाजवादी पार्टी नेपालको पता साफ भएको छ ।
तपाईको प्रतिक्रिया