कपिलवस्तु । नेपाल पत्रकार महासंघको देशैभर निर्वाचनको कार्य तालिका नजिकिदै गए पनि महासंघको कपिलवस्तु शाखामा भने सदस्यता सम्बन्धी विवाद बढेको छ ।
जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले एकलौटी रुपमा मनोमानी ढंगबाट सदस्यता सम्बन्धी नवीकरण सिफारिस केन्द्र तथा प्रदेश समितिमा पठाएको भन्दै नेपाल पत्रकार महासंघका २ जनै जिल्ला उपाध्यक्ष सहितको बहुमत कार्यसमितिले विरोध जनाएका हुन् ।
पत्रकार महासंघका जिल्ला उपाध्यक्षहरू हरि अधिकारी र स्वेता गिरी, कोषाध्यक्ष मोहन बेलबासे सहित बहुमत कार्य समितिले तत्काल मनोमानी ढंगबाट गरिएको सदस्यता नवीकरण सिफारिस सच्याउन माग गरेका छन् ।
नेपाल प्रेस युनियनका जिल्ला उपसभापति गणेश पोखरेल, प्रेस चौतारी नेपालका जिल्ला उपाध्यक्ष बाबुराम रायमाझी लगायतले एक प्रेस विज्ञप्ति जारी गरी विवाद निरुपण नगरी महासंघको निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने बताएका छन् ।
अध्यक्ष बज्राचार्यको स्वेच्छाचारी निर्णय विरुद्ध सामूहिक रूपमा पत्रकार महासंघ कपिलवस्तु शाखा कार्यालयमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रने आफूहरूले घोषणा गरेको नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष हरि अधिकारीले बताए ।
२ जना उपाध्यक्ष सहितको बहुमत कार्य समितिका सदस्यहरूको विरोधका कारण आज निर्माण गर्ने भनिएको जिल्ला निर्वाचन समिति गठन हुन सकेको छैन ।
यस सम्बन्धमा अध्यक्ष बज्राचार्यले भने कुनै प्रतिक्रिया नदिई सदस्यता नवीकरणका लागि रकम जम्मा गर्न सूचना प्रकाशित गरेका छन् ।
मापदण्डअनुसार सदस्यता नवीकरण नगर्दा बिबाद हुन पुगेको महासघका जिल्ला कोषाध्यक्ष मोहन बेल्बासेले बताए ।
तपाईको प्रतिक्रिया