उपराष्ट्रपति यादवसँग सार्क महासचिव सरवारको शिष्टाचार भेटवार्ता

समाचार

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गुलाम सरवरले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त अवसरमा शुभकामना आदानप्रदान पश्चात क्षेत्रीय सहयोग र सार्कको भूमिका, अवसर र चुनौतीहरू तथा समग्र क्षेत्रीय शान्ति र दिगोपन सम्बन्धमा छलफल भएको जनाइएको छ ।

उनले भने, ‘तत्कालीन होनहार संस्थापक नेताहरुले हामीलाई सुम्पिएको जिम्मेवारी सजगता र सकृयताका साथ निर्वाह गर्दै भावी पुस्तालाई शान्त र समृद्ध सार्क क्षेत्र हस्तान्तरण गर्न सक्नुपर्दछ ।’

उपराष्ट्रपति यादवले सार्कका महत्वपूर्ण संयन्त्रहरूका बैठक नियमित आयोजना र १९औं शिखर सम्मेलनको तदारुकताका साथ आयोजना गर्ने विषयको ठूलो महत्व रहेको उल्लेख गर्दै सार्कका संस्थागत निर्णयहरू कार्यान्वयन गर्न सदस्य राष्ट्रहरूको साझा प्रतिबद्धता र सहकार्य अपरिहार्य रहेको बताए । ‘लोकतान्त्रिक प्रणाली, सुशासन र मानव अधिकार प्रवर्द्धनका लागि सदस्य राष्ट्रहरूबीचको साझा प्रतिबद्धता अत्यावश्यक छ’ उनले भने, ‘म सार्क लोकतन्त्रको बडापत्र बनाउनु पर्ने आवश्यकतामा जोड दिन चाहन्छु ।’

उपराष्ट्रपति यादवले सार्क क्षेत्रका अपार सम्भावनाहरू (स्रोतहरूको उपयोग, जनसांख्यिकीय लाभ, सांस्कृतिक धरोहर) लाई अधिकतम उपयोग गरी क्षेत्रीय समृद्धि सुनिश्चित गर्नुपर्ने बताए ।

‘क्षेत्रीय सहकार्यलाई जोड दिँदै जलवायु परिवर्तन, महामारीको प्रभाव, आर्थिक सुस्तता र अफगानिस्तानको अनिश्चित भविष्य लगायतका जटिल राजनीतिक परिस्थितिका चुनौतीहरूलाई सामूहिक रूपमा समाधान गर्नुपर्ने आवश्यकता छ’ उनले भने, ‘समृद्धिको दृष्टिकोण मार्फत साझा लक्ष्यहरूको प्राप्तिका लागि सबै सदस्य राष्ट्रहरूले सामूहिक प्रयास गर्नुपर्दछ । अदुरदृष्टि र अन्तर्द्वन्द्वले अन्तत्वगत्वा कसैलाई लाभ नहुने मानव विकासको इतिहासले प्रष्ट पारिसकेको छ ।’

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गुलाम सरवरले अगामी सार्क चार्टर डेको लागि सबै सदस्य राष्ट्रहरुको शुभकामना प्राप्त गरेको उल्लेख गर्दै सार्क मुलुकहरुको विभिन्न चुनौतीहरु मिलेर सामना गर्नुपर्ने बताए । उनले भने, ‘सार्क राष्ट्रहरु सम्पन्न हुन साझा प्रयास जरुरी छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ