काठमाडौं । नयाँ दिल्लीस्थित विदेश मन्त्रालयको सुषमा स्वराज विदेश सेवा संस्थानमा (एसएसआइएफएस) नेपाली कूटनीतिज्ञ तथा अधिकारीका लागि राखिएको पहिलो विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाल सरकारका १० प्रमुख मन्त्रालय र विभागका २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारी सम्मिलित प्रतिनिधिमण्लले समूहले भारतको भ्रमण गरेको थियो।
नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरुको टोलीमा परराष्ट्र मन्त्रालय; अर्थ मन्त्रालय; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय; सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय; शहरी विकास मन्त्रालय; कृषि तथा पशुपन्छी विकास मन्त्रालय; भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय; तथा रेल विभागका प्रतिनिधिहरु रहेका थिए ।
उक्त प्रशिक्षण कार्यक्रमले विश्वव्यापी भूराजनीतिक र भू–आर्थिक विषय, आर्थिक कूटनीति (व्यापार, प्रतिभा, पर्यटन, कनेक्टिभिटी, र विकास साझेदारी), भारत–नेपाल सम्बन्ध, हाम्रा साझा सांस्कृतिक सम्पदा, र डिजिटल पब्लिक इन्फास्ट्रक्चर, र रेस्पोन्सिबल एआई सहित थुप्रै विषवस्तुलाई समेटेको थियो।
उक्त कार्यक्रममा राष्ट्रपति भवन, दक्षिण – ग्लोबल साउथ सेन्टर अफ एक्सिलेन्स, भारतको राष्ट्रीय आपदा प्रबंधन प्राधिकरण, र प्रधानमन्त्री सङ्ग्रहालयको स्थलगत भ्रमण पनि समावेश थिए।
प्रशिक्षण कार्यक्रममा वाराणसी,सारनाथ र अयोध्याको सांस्कृतिक र पर्यटकीय भ्रमणहरू पनि समावेश थिए । कार्यक्रमको समापनमा सहभागीहरुले भारतका विदेश सचिवसँग अन्तरक्रिया गर्ने अवसर पाएका थिए ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले २६ जना नेपाली कूटनीतिज्ञ र अधिकारीहरूसँग समग्रमा प्रशिक्षण कस्तो रह्यो भन्ने बारे बुझ्न एक अन्तरक्रिया सत्रको आयोजना गरेका थिए ।
सत्रको दौरानमा, राजदूतले भविष्यमा थप लक्षित र उपयोगी कोर्सहरू बारे योजना बनाउन भारतले कसरी सहयोग गर्न सक्छ भन्ने बारे सहभागीहरुसँग बुझे ।
नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरूका लागि पहिलो विशेष प्रशिक्षण कार्यक्रमले भारत र नेपालबीचको संस्थागत आदानप्रदानलाई सुदृढ गर्ने निरन्तर प्रतिबद्धतालाई झल्काउनुका साथै हाम्रो घनिष्ठ द्विपक्षीय सम्बन्धलाई दर्शाएको छ ।
तपाईको प्रतिक्रिया