काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका विजेता जनकपुर बोल्ट्सका समर्थकहरुमाथि रंगभेदी क्रियाकलाप गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गर्न जनमत पार्टीले माग गरेको छ ।
जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले आइतबार एक विज्ञप्ति जारी गरी एनपीएलको फाईनल खेलपछि काठमाडौंमा विजय उत्सव मनाई रहेका जनकपुर बोल्ट्स समर्थक मधेशी समुदायका मान्छेहरुलाई लक्षित गरेर नश्लीय सोच बोकेका केही युवाहरुद्वारा विभिन्न अपमानजनक शब्द प्रयोग गर्दै गरिएको आक्रमण तथा कुटपिट प्रति जनमत पार्टीको गम्भिर ध्यानाकर्षण भएको उनले जनाएका छन् ।
‘यस्ता रंगभेदी क्रियाकलाप गर्ने व्यक्तिहरुको पहिचान गरी गृह प्रशासनले कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्नको लागि जनमत पार्टी जोरदार माग गर्दछ ।’ प्रवक्ता डा.यादवले विज्ञप्तिमा भनेका हुन् ।
साथै, जनकपुर बोल्ट्सले एनपीएलको पहिलो उपाधि हासिल गरेकोमा बोल्ट्सका खेलाडी, प्रशिक्षक, व्यवस्थापक लगायत सम्पूर्णमा जनमत पार्टीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
सहभागी सबै टिमले उत्कृष्टताका साथ प्रर्दशन गर्दै खेल सम्पन्न गरेकोमा सबैलाई हार्दिक धन्यवाद पनि दिएको छ ।
तपाईको प्रतिक्रिया