जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

समाचार

राकेश यादव, रौतहट । जनमत पार्टी जिल्ला कार्य समिति रौतहटले भर्खर सम्पन्न भएको नेपाल प्रीमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल खेलमा खेल सकिएपछि मधेशी समुदायका युवा माथि भएको घटनामा संलग्न ऊपर कानूनी कार्यवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

पुस ६ गते शनिबार सम्पन्न एनपीएलको अन्तिम खेलमा जनकपुर बोल्ट्सले जीत हासिल गर्दै प्रतियोगिताको उपाधि जितेपछि गलत मानसिकता बोकेका युवाहरुको समूहले जनकपुर बोल्ट्सका समर्थक युवायुवतीलाई दुव्र्यवहार गर्नुको साथै कुटपिट गरेको घटना प्रति आपत्ति जनाउँदै दोषी माथि अविलम्ब कानूनी कार्यवाही गर्नका लागि जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमशैदको नेतृत्वमा गएका पार्टीका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुले नेपाल सरकारले रौतहट जिल्लाको छोटी भन्सार नाकाबाट सवारी साधन अवागमनमा लगाइएको प्रतिबन्ध छिटै हटाउनु पर्ने समेत माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई बुझाइएको ज्ञापन पत्रमा एनपीएल खेलमा सामाजिक सदभाव बिगार्ने, मधेशी समुदाय प्रति अपशव्द प्रयोग गर्ने, रंग वर्णको आधारमाँ गरिएको विभेदको निन्दा गरिएको छ ।

नेपालमा धर्म, वर्ण, जात, समुदायको आधारमा विभेद गर्न नपाइने नेपालको संविधानमा भएको व्यवस्थाविपरीत पहाडी समुदायका व्यक्तिले जनकपुर बोल्टसका समर्थक माथि गरेको हमला कानून विपरीत र संकुचित मानसिकताको उपज भएकोले आरोपितलाई पक्राउ गरी कार्यवाही गर्न जोडदार माग गरिएको छ ।

ज्ञापन पत्रमा नेपाल–भारत सीमासँग जोडिएको नाकाबाट सवारी साधनमा लगाइएको प्रतिबन्धले मधेशी जनता माथिको दमन शोषण भएको ठहर गर्दै रौतहटमा वर्षौदेखि बन्द रहेको छोटी भन्सार कार्यालय सञ्चालन गराउन ज्ञापन पत्र मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण समेत गराइएको छ ।

जिल्लामा रहेको छोटी भन्सार नाकाबाट कुनै किसिमको सवारी साधन ल्याउन नपाइने भनी जिल्ला भन्सार कार्यालय गौरले सूचना जारी गरेपछि सीमा नाकासँग जोडिएको स्थानीयहरु आक्रोशित भएका छन् । गौर भन्सार कार्यालय प्रयोग गरेर सवारी साधन नेपालमा प्रबेश गर्न सकिने भनी लगाइएको प्रतिबन्धले छोटी भन्सारबाट सहज रुपमा नेपाल भारतमा आउन जान सकिने अवस्था जटिल भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ईशनाथ नगरपालिका वडा नं २ औरैया, वडा नं ४ लतमरी, परोहा नगरपालिका वडा नं ९ रामपुरखाप, बौधीमाई नगरपालिका वडा नं ७ बंकुल, र राजदेवी नगरपालिका वडा नं ८ लक्ष्मीपुर बेलबिछवाबाट चारपाङ्ग्रे गाडीहरूको आवतजावत अवरुद्ध भएको छ ।

ज्ञापन पत्र बुझाउन पार्टीका केन्द्रीय सदस्य बिकास यादव, प्रदेशसभा सदस्य प्रत्यासी बाबू साहेब, गौर नगर कमिटी अध्यक्ष प्रमोद ठाकुर लगायतका नेता कार्यकर्ताहरु सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ