जनकपुरधाम । मधेश प्याब्सनको ९औं वार्षिकोत्सव मनाइएको छ । प्रा.अमरेन्द्र कुमार झाको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले शिक्षा क्षेत्रलाई व्यवस्थित गर्दै अघि बढनु पर्नेमा जोड दिएका थिए ।
मधेश प्याब्सनमा आवद्ध निजी विद्यालयहरुले मापदण्ड पूरा गरेर व्यवस्थित तरिकाले अघि बढ्नुपर्ने धारणा उनको थियो ।
साथै कम्पनी रजिष्ट्रारले नयाँ विद्यालय संचालन गर्न रोके पनि शैक्षिक गुठी अन्तर्गत नयाँ विद्यालय संचालन, अपग्रेड लगायतका सम्बन्धमा कार्यविधि छिट्टै तयार भएर कार्यान्वयन हुने नगर प्रमुख साहले बताए ।
नगर प्रमुख साहले जनकपुरधामका गुगल प्रसाद, ज्ञान कूप लगायतका प्राविधिक शिक्षालयहरु राम्रो गुणस्तरीय शिक्षा प्रदान गरीरहेको बताएका हुन् ।
विशिष्ट अतिथि शिक्षा, यूवा तथा खेलकुद महाशाखा प्रमुख धिरेन्द्र लाल कर्णले सँयुक्त रुपमा पानसमा राखिएको दिप प्रज्जवलन गरी तथा माता सरस्वतीको प्रतिमामा फुल,माला तथा अविर चढाई कार्यक्रमको उद्घाटन गरेका थिए । त्यसैगरी औपचारीक रुपमा राष्ट्रिय गान बजाइएकोृ थियो ।
कार्यक्रममा मधेश प्याब्सनका जिल्ला अध्यक्ष सुजित मिश्रले स्वागत मन्तब्य राखेका थिए ।
मधेश प्याब्सनका केन्द्रीय अध्यक्ष अमरेन्द्र कुमार झाको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा नगर प्रमुख साहले गुणस्तरीय शिक्षालाई मुलमन्त्र बनाएर अघि बढनुपर्ने बताए । नगरमा संचालनमा रहेका निजी विद्यालयहरु कानूनी प्रक्रिया पूरा गरेर संचालन गर्नुपर्नेमा जोड दिदै यसमा पालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा एनप्याब्सनको केन्द्रीय उपाध्यक्ष ब्रजेन्द्र मिश्रले मधेश प्याब्सनको ९ औं वार्षिकोत्सवको शुभकामना दिनुका साथै वर्तमान समसामयिक शिक्षा जगतका समस्याहरुबारे प्रकाश पारे । मिश्रले अहिलेको बन्न लागेको शिक्षा विधेयक प्रति आपति जनाउदै सामाजिक सुरक्षा कर नीजि विद्यालयको हकमा नरहेको बताए ।
प्याब्सनका मधेश प्रदेश सचिव विश्वलाल सिंहले निजी विद्यालयले आफ्नो स्तरबाट शिक्षा क्षेत्रमा सुधारका लागि प्रयासरत्त रहेको बताए । ऐन कानून सम्बन्धी जटिलताले निजी विद्यालय संचालकहरुलाई पिरोलेको अनुभव सुनाउँदै प्रक्रिया पूरा गर्दा स्थानीय सरकारलाई सहयोगको लागि आग्रह गरे ।
सो अवसरमा सिद्धार्थ शिशु सदनका प्रिन्सिपल राजु यादवले जनकपुरधामका निजी विद्यालयले उत्पादन गरेको जनशक्ति एशियादेखि युरोपसम्म नाम र दाम कमाइरहेको बताए । जनकपुरधाम शिक्षामा कहिल्यै पछाडि नरहेको दावी गर्दै यादवले यहाँको शिक्षा सदैव स्तरीय रहेको बताए ।
शुभकामना मन्तव्य राख्दै एमाले नेतृ चाँदनी झाले निजी विद्यालयहरुले शिक्षालाई व्यवसायिक नबनाई सेवामूलक बनाउनुपर्नेमा जोड दिइन् । जनकपुरधामका निजी विद्यालयहरुले विभिन्न नाउँमा शुल्क लिदा अभिभावक आजित भएको सुनाउँदै यसमा पनि ध्यान दिन जरुरी रहेको उनले भनिन् ।
त्यसैगरी एनप्याब्सनको सचिव डि.के.चौधरी, मधेश प्याब्सनको कानूनी सल्लाहकार अधिवक्ता कृष्ण कुमार झा, हाडजोर्नी तथा नशाको चिकित्सक आशिक झा, एमाले नेत्री ममता मिश्र पाठक तथा मधेश प्याब्सनको महासचिव सुवोध मिश्रले ९ औं वार्षिकोत्सवको विशेष शुभकामना दिदैं समसामयिक जनकपुरधामको शिक्षा जगतको बारेमा चर्चा गरेका थिए ।
मधेश प्याब्सनको केन्द्रीय सल्लाहकार भोला मिश्रले वार्षिकोत्सवको सफलताको शुभकामना दिँदै मधेश प्रदेशको परीक्षा प्रणाली चुस्तदुरुस्त हुनु पर्ने बताए ।
कार्यक्रममा मधेश प्याब्सन तथा गोदाबरी सेकेण्ड्री स्कुलको संस्थापक स्व.महेश्वर सिंहको श्रद्धाञ्जली स्वरुप एक मिनेटको मौन धारण गरिएको थियो ।
अन्त्यमा कार्यक्रमको अध्यक्ष तथा मधेश प्याब्सनको केन्द्रीय अध्यक्ष झाले उपस्थित प्रमुख अतिथि,विशिष्ट अतिथि,अतिथि,मधेस प्याब्सनका पदाधिकारी तथा सदस्य विद्यालयहरु,पत्रकार,सुरक्षा निकाय,कर्मचारी,विद्यार्थीहरु तथा सम्बन्धीत सरोकारबालाहरु प्रति कृतज्ञता तथा धन्यबाद प्रकट गरे ।
उनले खास गरेर मधेश प्याब्सनको महासचिव सुबोध मिश्र तथा ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलको प्रधानाध्यापक पवन कुमार साहलाई भावुक भएर सहयोग तथा त्यागको लागि विशेष धन्यवाद व्यक्त गरेका थिए ।
अध्यक्ष झाले जनकपुरधामको परीक्षा प्रणालीमा विकेन्द्रीकरण गर्नुपर्नेमा जोड दिए । टिसीको व्यवस्थाबारे चर्चा गरिए पनि अहिलेसम्म लागु नभएको कारण अहिले पनि जनकपुरधामको शिक्षा व्यवस्था अस्तव्यस्त रहेको दुखेसो अध्यक्ष झाले व्यक्त गरे ।
जनकपुरधामको शिक्षा प्रणालीको सुधारको लागि मधेश प्याब्सन नगर प्रमुख तथा शिक्षा महाशाखाको साथ भूतकालममा तथा वर्तमानमा रहेको तथा भविष्यमा पनि रहने बाचा अध्यक्ष झाले गरे ।
कार्यक्रमको अन्त्यमा मधेश प्याब्सनको ९ औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष तथा प्रमुख अतिथिले सँयुक्त रुपमा केक काटी एक अर्कालाई केक खुवाएका थिए ।
कार्यक्रममा गैलेक्सी प्लस टु क्याम्पस, शिव शारदा सेकेण्ड्री स्कुल, गोदाबरी सेकेण्ड्री स्कुल तथा ग्रीन उड ई.बो.स्कुलका विद्यार्थीहरुले सुन्दर नृत्य प्रस्तुत गरेका थिए भने तिनीहरुलाई प्रमुख अतिथि नगर प्रमुख साहले प्रशंसा पत्र प्रदान गर्नु भएका थिए ।
त्यसैगरी प्रमुख अतिथि साह तथा विशिष्ट अतिथि कर्णलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै मायाको चिनो समेत अध्यक्ष झाले प्रदान गरेका थिए ।
कार्यक्रममा उद्घोषण लवदीप साँस्कृतिक केन्द्रको संस्थापक लव ठाकुर(लव सर) तथा मधेश प्याब्सनको जिल्ला अध्यक्ष सुजित मिश्रले गरेका थिए । कार्यक्रममा मेडिया पार्टनरको भूमिका निर्वाह जलेश्वरटुडे दैनिक तथा अनलाइनले गरेका थिए ।
तपाईको प्रतिक्रिया