राकेश यादव, रौतहट । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ५ पताही टोलमा आइतबार राती आगलागी हुँदा ८ जनाको घर जलेर नष्ट भएको छ । राती करिब १२ बजेर ४५ मिनेटको समयमा आगलागी हुदा पासवान समुदायको ८ परिवारको फुसको घर जलेको हो।
आगलागीमा सबैभन्दा बढी क्षति स्थानीय बाबुलाल पासवानको भएको हो। पीडितका अनुसार जग्गा खरिद गर्नको लागि घरमा राखेको १७ लाख नगद जलेको हो। सुतिरहेको बेला आगलागी भएकोले घरमा रहेको समान निकाल्न नसकेको उहाको भनाइ रहेको छ।
सुतिरहेको व्यक्ति ज्यान जोगाउन सफल भएपनि घरमा रहेको खाद्यान्न सामग्री पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
आगलागी कसरी भयो भने जानकारी नभएको बताउँदै उनले आगो लागेपछि थाहा भएको जनाए । आगलागीबाट स्थानीय रामनाथ पासवान, जगरनाथ पासवान, सोगारथ पासवान, प्रदीप पासवान, दिपेन्द्र पासवान, कान्ति देवी र नागेन्द्र पासवानको घर जलेको वडा अध्यक्ष सुरेश पण्डितले बताएका छन् ।
घरमा भएको गहुँ, धान, चामल, विद्युतीय सामग्री, भाडा वर्तन, लता कपडा नष्ट भएको पीडितहरूले बताएका छन् । गौर नगरपालिकाबाट गएको बारुण यन्त्रको सहयोगबाट आगो नियन्त्रणमा लिएको स्थानीयहरुले बताए ।
घटनाको जानकारी भए लगतै नगर प्रमुख भिखारी प्रसाद यादव घटना स्थलमा पुगेर पीडितहरुलाई तत्काल बस्ने र खाने व्यवस्था गराउन वडा अध्यक्षलाइ निर्देशन दिएका छन् । नगर पालिकाबाट तत्काल राहतको व्यवस्था गर्ने समेत बताए ।
तपाईको प्रतिक्रिया