काठमाडौं । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठी र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोबीच भेटवार्ता भएको छ ।
तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि पहल थालेका जप्रपाका अध्यक्ष त्रिपाठीले भेटघाट, वार्ता र सम्वाद निरन्तर गर्दै आएका छन् । सोही क्रममा त्रिपाठीले सोमबार राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष महतोसँग भेटेका हुन् ।
सबै तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्य गर्ने त्रिपाठीको प्रस्तावप्रति महतोले सहमति जनाउँदै आफ्नो पार्टीमा पनि छलफल गर्ने बताएका थिए ।
तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्य प्रस्तावमा महतो सकारात्मक रहेको कुरा जप्रपाका नेता ईश्वरदयाल मिश्रले बताएका छन् ।
नेता मिश्रका अनुसार दुई–तीन दिनभित्रै सबै मधेशकेन्द्रित दलहरुका अध्यक्षहरुको सामूहिक बैठक बस्ने छन् । सो बैठकले एउटा ठोस निर्णय गर्ने र सहकार्यका लागि एउटा कार्यदिशा बनाउने उनले बताए ।
तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि त्रिपाठीले डा.शिवजी यादवको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको हो । अहिलेसम्म लगभग सबै दलसँग छलफल भइसकेको बताइएको छ ।
तपाईको प्रतिक्रिया