राकेश यादव, रौतहट । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ५ पताही टोलमा आइतबार राती भएको भीषण आगलगीको घटनाका पीडित परिवारलाई बिभिन्न संघ सस्थाहरुले राहत उपलब्ध गराएका छन् ।
खाना पकाएर फालिएको खरानीबाट सल्केको आगोले आगलगी हुँदा दलित समुदायका ८ जनाको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । घटनामा एक जनाको नगद १७ लाख रुपैयाँ जलेको हो भने ५ वटा बाख्रा जलेर मरेका हुन् ।
आगलागीमा स्थानीय बाबूलाल पासवानको नगद १७ लाख जलेको छ । जग्गा खरीद गर्नको लागि टिनको बक्समा राखेको रुपैयाँ जलेको पीडित बाबूलाल पासवानले बताए । आँखाबाट आँसु झार्दै पासवानले आगोले टाउको ठूलो विपति निम्त्याइदिएको सुनाए ।
घटनामा स्थानीय जगरनाथ पासवान, सोगारथ पासवान, प्रदीप पासवान, दीपेन्द्र पासवान, नागेन्द्र पासवान र कान्ति देवी पासवानको फूसको घर र घरभित्र भएको सरसामान, लत्ता कपडा, खाद्यान्न सामग्री, भाडा बर्तन, खाट, विद्युतीय सामग्री समेत जलेर नष्ट भएका छन् । पीडितहरुको करीव ५० लाख मूल्य बरावरको भौतिक क्षति भएको अनुमान गरिएको छ ।
आगलागीको घटना जानकारी भएपछि निर्वाचित जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि, समाजसेवी, संघसस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु घटना स्थलमा पुगेर पीडितको अवस्थाबारे जानकारी समेत लिएका छन् ।
राजदेवी नगरपालिकाका प्रमुख भिखारी प्रसाद यादव, उपप्रमुख र स्थानीय वडा अध्यक्षले अग्निपीडितलाई तत्काल खाद्यान्न सामग्री, त्रिपाल, कम्बल राहत स्वरुप उपलब्ध गराएका छन् ।
निर्माण व्यवसायी संघ रौतहटका पदाधिकारीले पीडितहरुलाई ग्यास सिलिण्डर १ थान, ग्यास चूल्हो १ थान, भात पकाउने भाड़ो १ थान, दाल पकाउने भाडो १ थान, थाली २ थान, गिलास २ थान, कराही १ थान, करछुल १ थान, चामल २५ किलो, दाल ५ किलो, खाने तेल २ लीटर, नून २ किलो, आलू ७ किलो, चिउरा ५ किलो, बेसार, धनिया, खुर्सानी सहितका सामान प्रति परिवारलाइ सहयोग गरेका छन् ।
मेयर प्रत्यासी रामेश्वर प्रसाद यादवले आफ्नो तर्फबाट पीडित परिवारलाई खाद्यान्न सामग्री, त्रिपाल लगायतका सामान, जिल्ला दैवी प्रकोप उद्धार समिति रौतहटले पनि राहत सहयोग गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रौतहट, ग्रामीण विकास केन्द्र नेपाल र जनमत युवा संघ गौर रौतहटले पीडित परिवारलाई राहत सहयोग गरेका छन् ।
पीडामा परेका परिवारलाई आवासको व्यवस्थापन गराउने प्रदेश सभा सदस्य नागेन्द्र साहले आश्वासन समेत दिएका छन् । प्रदेश सरकारको आवास योजनाअन्तर्गत पीडित परिवारलाई घर निर्माण गराउने उनले बताएका छन् ।
घरबिहीन भएका ८ जना परिवारको करीव ५२ जना महिला, पुरुष, बालबालिका प्रभावित भएकोले छिट्टै आवासको व्यवस्था गर्नु पर्ने, शौचालय, खानेपानीको व्यवस्था गर्नु पर्ने देखिन्छ ।
तपाईको प्रतिक्रिया