रौतहट । रौतहटको भैसही र गुजरा क्षेत्रका बासिन्दाहरू जंगली हात्तीको लगातारको आतङ्कले भयभित भएका छन्।
झण्डै १५ दिनदेखि जंगली हात्तीले गाउँबस्तीमा पसेर घर तोडफोड गर्नुका साथै खेतबारीमा लगाइएको बालीनालीमा गम्भीर क्षति पु¥याएको छ। यस कारण बासिन्दाहरू दिनरात त्रासमा बाँच्न बाध्य भएका छन्।
यस घटनाप्रति चिन्ता व्यक्त गर्दै पूर्वमन्त्री एवं आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपाल सरकार र सम्बन्धित निकायको लापरबाहीप्रति आक्रोश व्यक्त गरेका छन् ।
उनले जंगली हात्तीको आतङ्कले जनताको जनजीवनमा पारेको असरप्रति सरकारको बेवास्ता दुःखद रहेको भन्दै तत्काल नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गरेका छन् ।
“जंगली हात्तीको कारण स्थानीय जनताको दैनिकी अस्तव्यस्त बनेको छ। घरबार, बालीनाली र जनताको सुरक्षामा परेको असरप्रति सरकार गम्भीर देखिएको छैन, जुन अत्यन्तै खेदजनक हो,” साहले भने । साथै, उनले प्रभावित जनतालाई राहतको व्यवस्था गर्न र दीर्घकालीन समाधान खोज्न सरकारलाई विशेष ध्यानाकर्षण गराएका छन् ।
यस घटनाबाट पीडित स्थानीय बासिन्दाहरूले पनि राज्यको उपेक्षाप्रति गुनासो गर्दै शिघ्र सुरक्षा र राहतको माग गरेका छन्। जंगली हात्तीको आतङ्कले क्षेत्रका कृषकहरूको बालीनाली पूर्ण रूपमा नष्ट भएको छ भने जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ।
तपाईको प्रतिक्रिया