राकेश यादव, रौतहट । जिल्लाको गौर नगरपालिका वडा नम्बर २ महादेवपट्टीमा रहेको प्राचीन बानेश्वरनाथ महादेव मन्दिर परिसर पुरातत्व विभागका टोलीले गरिरहेको उत्खननको क्रममा ७ सय वर्ष पुरानो इटा फेला परेको छ ।
पुरानो शिव मन्दिरको रुपमा रहेको बानेश्वरनाथ मन्दिर परिसर भित्र भैरहेको उत्खननको क्रममा भेटिएको इटा समकालीन भएको पुरातत्व विद देवेन्द्रनाथ तिवारीले जनाएका छन् ।
गौर नगरपालिकाका मेयर शम्भू साहको विशेष पहलमा पौष ११ गतेदेखि उत्खनन गर्ने कार्य शुरू रहेको छ । मन्दिरको पूर्व र पश्चिमतर्फ उत्खनन गर्दा मानिसको औलाको निशान भएको इटा भेटिएको तिवारीले बताए ।
भेटिएको अवशेष सिम्रौनगढसँग मेलखाएकोले ७ सय वर्ष पुरानो रहेको दावी उनले गरे । उत्खननको क्रममा खाना पकाउने माटोको भाडाको टुकड़ा, बच्चाले खेल्ने माटोको ढाक, माटोको हात्तीको टाउको भेटिएकोले घाना बस्ती भएको अनुमान गरिएको बताए ।
डेढदेखि २ मिटर गहिरो जमीनमुनिको माटो परीक्षण गरी जमीनभित्र भएको अवशेष अनुसन्धान गरी उत्खननको कार्य गरेको बताउँदै भेटिएको अवशेषको प्रतिवेदन बनाएर नगरपालिकाको जिम्मा लगाउने तिवारीले जनाए ।
सिम्रौनगढको इटाको जस्तो इटा भेटिएकोले समकालीन अवशेष रहेको बताउँदै अहिले इनार पनि भेटिएकोले उत्खननको कार्य जारी रहेको छ उनले भने पौष २८ गतेसम्म कार्य गरिने त्यसपछि आवश्यकता भए थप कार्यलाई अगाडि बढाउने बताए ।
उत्खननको क्रममा भेटिएको संरचना, इटको अवस्थाले भएको संरचना भत्किएको अनुमान गरिएको छ । बानेश्वरनाथ मन्दिरदेखि पश्चिमतर्फमा उत्खनन गर्दा इटाको टुकडाहरु बढी मात्रामा देखिएको छ । मन्दिरदेखि करीव १०० मीटर दक्षिणमा भेटिएको इनारको खन्ने काम जारी रहेको छ ।
पुरातत्व विद तिवारीले ११५७ देखि १३८१ सम्म सिम्रौनगढ राज्य रहेको र राजा हरसिंग देव आफ्नो ज्यान जोगाउन काठमाण्डौ गएको बताए । त्यो बेला नेपाल भनेर काठमाडौं, भक्तपुर र पाटनलाई चिनिने गरेको सुनाउँदै रानी देवला देवीले आफ्नो छोरा लिएर भक्तपुर शहरमा गएर बसेको इतिहास रहेको सुनाउँदै यहाँबाट लागेको भगवान तलेजूको स्थापना त्यही गरिएको जनाए ।
पुरातत्व विभागबाट उत्खननको लागि आएका टोलीमा रेखांकन विद ओम कुमार श्रेष्ठ, छबिकार रमेश श्रेष्ठ रहेका छन् ।
उत्खननको क्रममा भेटिएको अवशेषलाई संरक्षण गर्ने नगरप्रमुख साहले बताएका छन् । उनले ऐतिहासिक कार्य भएकोले संरक्षण गरी पर्यटकीयस्थलको रुपमा विकास गर्ने प्रतिबद्धता समेत जनाए ।
तपाईको प्रतिक्रिया