अजय कुमार सिंह, जनकपुरधाम । ‘भूकम्पले सिकाएको पाठ : बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नाराका साथ २७औ भूकम्प सुरक्षा दिवस २०८१ मनाइएको छ ।
मधेश प्रदेशको गृह तथा कानून मन्त्रालयको अगाडिबाट सुरु भएको प्रभात फेरी मिल्स एरिया, भानुचौक, कदम चौक हुदै महेन्द्रनारायण निधी संस्कृति केन्द्रमा पुगेर सभामा परिणत भएको थियो ।
प्रभातफेरी कार्यक्रममा संघीय शहरी विकास कार्यालय धनुषाका कर्मचारी, नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, विभिन्न मन्त्रालयका विशिष्ठ कर्मचारीहरुको सहभागिता रहेका थियो ।
कार्यक्रममा संघीय सहरी विकास कार्यालयका कार्यालय प्रमुख विनोद कुमार यादवले भूकम्पबाट बच्नका लागि बलियो संरचना निर्माण गर्न आग्रह गर्दै १९९० देखि हालसम्म आएको भूकम्पको केही दृष्यहरु प्रस्तुत गर्दै घर निर्माण गर्दा अपनाउनु पर्ने प्रावधानका बारेमा समेत जानकारी गराएका थिए ।
उनले नगरपालिकाबाट नक्सा पास हुँदाको अवस्थाका बारेमा समेत चर्चा गरेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका गृह तथा कानूनमन्त्री राजकुमार लेखीले हुनुपर्ने जस्तो कार्यक्रम नभएकोमा आत्मालोचना गर्दै सबभन्दा पहिले आफूलाई दोषी मान्दै संचारकर्मीहरुमाथि पनि केही पश्न तेर्साएका थिए ।
नेता र मन्त्रीहरुको कार्यक्रममा संचारकमीहरु बढी जान रुचाउने तर यस्ता कार्यक्रममा कमै उपस्थिति देखिने जस्ता प्रश्न गरेका थिए ।
मन्त्री लेखीले संघीय शहरी विकास कार्यालयका प्रमुख विनोद कुमार यादवले प्रस्तुत गरेको वृत्त चित्रका बारेमा प्रशंसा गर्दै कार्यक्रममा समापन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य गृह तथा कानून मन्त्रालयका योजना अधिकृत देवेन्द्र यादवले गरेका थिए ।
तपाईको प्रतिक्रिया