उपराष्ट्रपति यादवसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेटवार्ता

समाचार

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार भएको भेटमा शुभकामना आदानप्रदान प्रश्चात दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकास प्राथमिकताहरु, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा सहयोग र सहकार्य लगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र भारतबीच सौहाद्र्रता, मित्रता, सदभावना, आपसी समझदारी र सहयोगले गाँसिएको गहिरो एवं वृहत सम्बन्ध रही आएको बताए । ‘दुई देशबीचका सम्बन्धहरू सार्वभौमिक समानता, असल छिमेकीपन, आपसी सम्मान र पारस्परिक विश्वासका सिद्धान्तमा आधारित छन्’ उनले भने, ‘नेपाल र भारतबीच सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक सम्बन्ध एवं जनस्तरको घनिष्ठ सम्बन्धको शताब्दीयौं पुरानो परम्परा छ ।’

उपराष्ट्रपति यादवले हालैका वर्षहरुमा नेपाल–भारत सहयोग र विकास साझेदारीले विशेषगरी सीमापार पूर्वाधार विकास र ऊर्जा क्षेत्रमा राम्रो गति लिएकोमा खुशी व्यक्त गरे ।

‘छिमेकीलाई प्राथमिकता दिने भारतको ‘नेबरहुड फस्र्ट’ नीतिको नेपालले प्रशंसा गर्दछ, यसबाट भारतले आफ्ना छिमेकी राष्ट्रहरुलाई दिएको प्राथमिकता र महत्त्व प्रतिविम्बित हुन्छ’ उनले भने, ‘निकट छिमेकीका नाताले भारतसँग नजिकको सहकार्य गर्न पाउँदा खुशी छौं ।’

उनले उच्चस्तरीय भ्रमणको आदान–प्रदानले हाम्रा दुई मुलुकबीचको हार्दिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत बताए । उनले भने, ‘सन् २०२४ मा भारतको विदेश मन्त्री र विदेश सचिवले गर्नुभएको नेपाल भ्रमण तथा गत साता भएको वाणिज्य सचिवस्तरीय द्विपक्षीय बैठक तथा यस प्रकारका अन्य द्विपक्षीय संयन्त्रहरुको बैठकले दुई देशबीच आपसी विश्वास र सहयोगको वातावरण बनेकोमा हर्षित छु ।’

उपराष्ट्रपति यादवले भारत नेपालको एक महत्वपूर्ण विकास साझेदार रही आएको उल्लेख गर्दै हामीले भारतबाट आर्थिक, प्राविधिक लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त गर्दै आएको बताए ।

‘हवाई, सडक र रेलमार्ग, पेट्रोलियम पदार्थको पाइपलाइन, जलविद्युत तथा प्रसारण लाइनको विकास, एकीकृत जाँच चौकी (आईसीपी) र मानव संसाधन विकासका क्षेत्रमा नेपाल–भारत सहकार्य महत्वपूर्ण छ’ उनले भने, ‘निकट छिमेकीका रुपमा हाम्रा दुई देशको विगत, वर्तमान र भविष्य जोडिएको छ, हाम्रा जनताको प्रगति र समृद्धिका लागि हाम्रो मित्रता तथा सहकार्य थप मजबुत हुनुपर्दछ ।’

उनले नेपालको विकास प्राथमिकताहरुमा हरित, दिगो र समावेशी आर्थिक विकास हासिल गर्नुका साथै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत, व्यापार, लगानी, पर्यटन र मानव संशाधन विकास रहेको बताए ।

‘सन् २०२६ सम्ममा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदैछ, यस संक्रमणकालमा हामीले आफ्नो क्षमता विकास गर्नुपर्नेछ ’ उपराष्ट्रपति यादवले भने, ‘यसका निमित्त जनताको दक्षता बढाउने, विभिन्न बस्तुको उत्पादन गर्ने तथा पूर्वाधार निर्माण गर्ने जस्ता विषय पनि हाम्रा प्राथमिकतामा छन् ।’

उनले प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाले नेपाल र भारतलाई शताब्दीयौंदेखि जोडेको उल्लेख गर्दै हामीले दुई मुलुकका जनताको बृहत्तर लाभको लागि स्रोतहरूको संरक्षण र परिचालन गर्न आवश्यक रहेको बताए । उनले भेटमा हाम्रा दुई मुलुक सार्क, विम्सटेक, बीबीआईएन जस्ता क्षेत्रीय तथा संयुक्त राष्ट्रसंघ जस्ता बहुपक्षीयमञ्चहरूमा पनि निकट रुपमा सहयोग र सहकार्य गर्दै आएको पनि उल्लेख गरे । उपराष्ट्रपति यादवले भारतको ७६ औं गणतन्त्र दिवस (२६ जनवरी) को अवसरमा राजदूतमार्फत् भारतीय जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।

भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले ‘नेबरहुड फस्र्ट’ नीतिलाई निरन्तर अघि बढाएको उल्लेख गर्दै गहु्ँ निर्यातमा प्रतिबन्धका बाबजूद नेपालाई दुई लाख टन गहूँ निर्यातका लागि अनुमति दिएको बताए ।

उनले भैरहवामा भारतले यसै वर्ष सम्पन्न हुने गरी एकिकृत सुरक्षा जाँच चौकी निर्माण गरिरहेको जनाउँदै नेपाललाई भारतले एक हजार चौसठी मेगावाट विजुली आपूर्ति गरिरहेको र बाढीका बेला १० वटा बेलीब्रिज पनि हस्तान्तरण गरेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ