लहान । १८औं बलिदानी दिवसको अवसरमा मधेश र देशको लागि ज्यानको आहुति दिने ज्ञात–अज्ञात सम्पूर्ण वीर शहीदहरूको सम्झनामा लहानमा रहेको शहीदहरूको सालिकमा राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले माला अर्पण गर्दै शहीद परिवारहरूलाई दोसल्ला ओढाई सम्मान गरेका छन् ।
यस अवसरमा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका महतोले मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक रहेको बताएका हुन् ।
उनले भने, “मधेशले एकल नश्लीय औपनिवेशिक शोषणविरुद्ध बिद्रोह गरेको हो । तर, उपनिवेशबाट मधेश अझै मुक्त हुन सकेको छैन। मधेसी जनताले बलिदानी दिए, कडा प्रतिरोध गरे तर पनि पूर्ण सफलता हात पार्न सकेनौं । असफलतापछि संघर्षको रणनीति परिवर्तन गर्नुको सट्टा केही नेताहरूले सत्ता सामु आत्मसमर्पण गरे ।”
महतोले शहीदहरूको सपना पूरा गर्न राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता औंल्याउँदै मधेश मुक्तिको खाका तयार गर्दै बहुलराष्ट्र राज्यको स्थापना गर्नुपर्ने बताए ।
“यस प्रणालीमा सम्पूर्ण राष्ट्रविहीन राष्ट्रका जनताले अपनत्व महसुस गर्नेछन्। सबै भाषा र संस्कृतिको सम्मान हुनेछ,“ उनले भने ।
महतोले मधेशी, थारु, पहाडका जनजाति, मुस्लिम र दलित लगायत सम्पूर्ण समुदायको सभ्यता र संस्कृतिको रक्षा गर्दै सुशासन र समृद्धिको लागि एकजुट भएर संघर्ष गर्न अपिल गरे ।
उनले थपे, “सत्ताको लोभले सहिदको सपना पूरा हुँदैन। यो जनतालाई ढाँट्नु बाहेक केही होइन। सहिदहरूको प्रति सच्चा श्रद्धाञ्जलि दिन सम्पूर्ण नेपाली जनता एक भई अन्तिम पटक संघर्ष गर्नुपर्छ ।”
कार्यक्रममा शहीद परिवारहरूले शहीदहरूको सम्मानप्रति कृतज्ञता व्यक्त गरेका थिए । बलिदानी दिवसको यो अवसरले मधेशको स्वतन्त्रता र अधिकार प्राप्तिका लागि संघर्षलाई पुनः सशक्त बनाउने सन्देश दिएको छ ।
तपाईको प्रतिक्रिया