काठमाडौं । १८औं मधेश बलिदानी दिवसको अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महासचिव मनिष मिश्रले मधेशी शहीदहरुको सहादतलाई खेर जान नदिने प्रण गरेका छन् ।
लोसपानिकट लोकतान्त्रिक विद्यार्थी संघले आयोजना गरेको बलिदानी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव मिश्रले शहीदहरुकै प्रेरणाबाट अगाडि बढिरहेको बताएका छन् । उनले भने, ‘मधेशी शहीदहरुकै शहादतका कारण आज देशका सम्पूर्ण उत्पीडित जातजातिहरुले राज्यका विभिन्न निकायहरुमा ठाउँ पाएका छन् ।’
‘मधेशी शहीदहरुको सहादलतलाई कुनै पनि हालतमा हामी खेर जान दिन्नौं’, उनले भने, ‘आगामी दिनमा लोसपासँग मुद्दा, विचार र सिद्धान्त मिल्नेहरुसँग एकताबद्ध भएर शहीदहरुको परिकल्पनालाई साकार पार्छौं ।’
मधेशी समुदाय नेपालमा बहुसंख्यक हुँदा पनि आरक्षणमा बाँचिरहनुपर्ने दुर्भाग्यको कुरा रहेको भन्दै उनले बहुसंख्यक समुदायलाई पनि राज्यको पहुँचबाट वञ्चित गरिएको प्रति आक्रोश व्यक्त गरेका थिए ।
नेपालमा मधेशी समुदायलाई दबाएर कुनै पनि समृद्धि प्राप्त हुन नसक्ने भन्दै उनले भने, ‘जुन देशमा बहुसंख्यक समुदायलाई दबाएर समृद्धिको कुरा गर्छ, त्यो असम्भव हो ।’
तपाईको प्रतिक्रिया