‘झापादेखि कञ्चनपुरसम्मको मधेशी समुदायलाई एउटा सूत्रमा बाँध्ने कुशल संगठनकर्ता र दूरदर्शी राजनेता थिए गजेन्द्रबाबु’

समाचार

काठमाडौं । नेपालमा आज संघीयता, समावेशिता, समानुपातिक सहभागिता, नागरिकता समस्या लगायतका मूलभूत एजेन्डाहरु कार्यान्वयनको अवस्थामा छ ।

आजभन्दा ३५ वर्ष पहिला नै नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्र नारायण सिंहले यी मुद्दाहरु उठान गरेका थिए । नेपाल जस्तो विविधतायुक्त मुलुकमा संघीयता नै उत्तम विकल्प रहेको उनको अडान आज नेपालमा आंशिकरुपमा लागू भएको छ । गजेन्द्रबाबुले मार्गदर्शन गरेको संघीयताभन्दा अहिले कुरुप अवस्थामा ठूला दलहरुले बनाइदिएको छ ।

स्व. गजेन्द्र नारायण सिंहको माघ १० गते पुण्यतिथि मनाइएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सिंहले नेपाली कांग्रेबाट अलग भई पूर्वाञ्चल कांग्रेस गठन गरेका थिए । २०४० सालपछि नेपाल सद्भावना परिषद् हुँदै उनले २०४७ साल वैसाख ३ गते नेपाल सद्भावना पार्टी गठन गरे । परिषद्को उद्देश्य स्पष्ट थियो– नेपालको भूगोलभित्रै मधेशी समुदायमाथिको भेदभावको अन्त्य, पहिचान र नागरिक अधिकारसम्पन्न समतामूलक समाज निर्माण ।

बहुदलीय प्रजातन्त्र आएपछि २०४७ सालमा सिंहले सद्भावना परिषद्लाई सद्भावना पार्टीमा रूपान्तरण गरे । परिषद् स्थापनाका दिनदेखि नै सिंहले मधेशी समुदायमा अधिकारबारे चेतना जागृत गर्ने अभियान सञ्चालन गरेका हुन् ।

सम्भवतः राजनीतिमा यो नै सिंहको सर्वाधिक महत्वपूर्ण योगदान हो । नेपालमा सामुदायिक अथवा क्षेत्रीय राजनीतिलाई प्रवेश गराउने श्रेय पनि उनलाई नै जान्छ । सबैभन्दा महत्वपूर्ण उनको उपलब्धी भनेको संघीयता हो र त्यसभित्र पनि मधेश प्रदेश नामक एक प्रदेश/प्रान्त बन्न सफल हुनु हो ।

नेपाललाई संघीयतामा लैजानुपर्ने विचार सिंहकै थियो र त्यसका लागि उनले पार्टी नै स्थापना गरेर नेपाली राजनीतिमा आफ्नो स्थान बनाए । अहिले नेपाल आंशिक संघीयतामा गएको छ । समावेशी र मधेशका विषयलाई नेपाली राजनीतिमा स्थापित गराउने पनि सिंह नै हुन् ।

सिंहको पुण्यतिथिको अवसरमा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले विचार विमर्श कार्यक्रम आयोजना गरेको थियो । गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रद्वारा आज गजेन्द्र बाबुको २४औं पुण्यतिथिको अवसरमा काठमाडौं लगायत मधेशको विभिन्न जिल्लाहरुमा “गजेन्द्र बाबुको चिन्तन र मधेशको भावी कार्यदिशा“ विषयक विचार विमर्श कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्ने सम्पुर्ण नेताहरुले गजेन्द्र बाबुले विकट परिस्थितिमा गरेको अधिकार पहिचानको आन्दोलनको मुक्त कण्ठले प्रशंसा गरेका थिए । साथै सबै मधेशवादी पार्टीहरुले पुनः सहकार्य गर्नुपर्ने र आदिवासी जनजाति लगायत उत्पीडित अन्य जाति र समुदायसँग समेत सहकार्य गर्नुपर्ने बताए ।

काठमाडौंको कृष्णभोग पार्टी प्यालेश, नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, तमलोपाका अध्यक्ष वृषेश चन्द्र लाल, जसपाका सहअध्यक्ष रेणु यादव, जसपाका नेता तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह, जनमत पार्टीका अध्यक्ष डा.सीके राउत, नेपाल संघीय सामाजवादी पार्टीका महासचिव अनन्त राई, जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव, जसपा नेपालका प्रवक्ता मनिष सुमन, जप्रपाका वरिष्ठ उपाध्यक्ष डा. शिवजी यादव, नागरिक पहिलोका नेता प्रशान्त सिंह, प्राध्यापक डा. विनय मिश्र, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, अभियानी रिता साह, हिमालिनीका प्रधान सम्पादक सचितानन्द मिश्र, अभियानी कंचना झा, रामकुमार शर्मा, डा. शरद सिंह यादव, शैल कुमारी देवी, कमला कुमारी गुरुङ, सन्तोष मेहता, बुद्ध छिरिङ मोक्तान, सुमन सायमी, जुनतारा पुन मगर, विमला लामा, संजय कुमार, संजय यादव, अनन्त अनुराग, राजिव देव, पंकज देव, ब्रजकिशोर सिंह, बीपी साह, हेम शंकर सिंह, आभाष गुरु, दिपक गुप्ता, सि. एन. थारु, निमेश कर्ण, सुरेश यादव, सुभास साह, राजेश मिश्र, पंकज मिश्र, राजेश राय, दिपेन पन्त, दिल बहादुर निशानी, किशोर गुरु, दिपेश दनुवार, संयोग देव लगायतका व्यक्तित्वहरुको उपस्थिति रहयो ।

कार्यक्रमको संचालन श्री केशव झाले गरेका थिए भने अध्यक्षता श्री अनिलकुमार महासेठले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ