प्रअ यादवले दिवा खाजाको रकममा अनियमितता गरेको आरोप

समाचार

राकेश यादव, रौतहट । जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर ७ पिपरा राजवाडा लौकहामा रहेको प्रतीक विद्यालयको शिक्षा अवस्था दयनीय भएको छ ।

मधेश प्रदेशको रौतहटको शिक्षाको अवस्था निकै कमजोर भएको तथ्यांक देखिएको अवस्थामा पनि जिम्मेवार व्यक्ति स्थानीय सरकारले अवस्था सुधार गर्ने तर्फ सक्रिय नहुँदा शिक्षाको अवस्था दिनप्रति दिन खस्किँदै गएको हो ।

बालबालिकाको भविष्य निर्धारण गर्ने प्राथमिक विद्यालयमा प्राध्यानध्यापक र विद्यालय व्यवस्थापन समितिको निष्क्रियताको कारण नेकपा एसका नेत्री एवं पूर्व सांसद शरला यादवको गाउँको विद्यालयमा शिक्षाको अवस्था जर्जर देखिएको हो ।

विद्यालयमा प्राध्यानध्यापकको रुपमा राज किशोर प्रसाद यादव आएदेखि विद्यालयमा आर्थिक अनियमितता बढेको स्थानीय देवेन्द्र पंडितले आरोप लगाएका छन् ।

कम्पाउण्ड वाल नरहेको विद्यालयमा अध्ययन गर्ने बालबालिकाको संख्या भौतिक रुपमा न्यून हँुदै गएको छ । विद्यालयको तथ्यांकमा ४ सय विद्यार्थी संख्या देखिए पनि भौतिक रुपमा ५० को संख्यामा उपस्थति देखिने गरेको उनले बताए । विद्यालयमा शुद्ध खानेपानीको आभाव रहेको छ भने निर्माण गरिएको शौचालय पनि प्रयोगविहीन रहेको देखिएको छ ।

५ कक्षासम्म सञ्चालन हुँदै आएको विद्यालयमा आइतबार संचारकर्मीको टोली पुग्दा कक्षा ४ मा ५ जना तथा कक्षा ५ मा ४ जना विद्यार्थी विना पोशाकको उपस्थित देखिएको थियो । फोहर नै फोहर भएको शौचालय, आर्सेनिकयुक्त हैंडपाइप देखिएको विद्यालयमा प्राध्यानध्यापक आफै विना पोशाकको उपस्थित रहेको थियो ।

शिक्षक शिक्षिका र विधार्थी शौच गर्न खुल्ला ठाउँमा जाने गरेको प्राध्यानध्यापक यादवले स्वीकार समेत गरेका छन् । शौचालयको सरसफाई किन गराउनु हुन्न भने विषयमा प्रश्न गर्दा प्राध्यानध्यापक यादवले यो विषय व्यवस्थापन समितिको रहेको जवाव फर्काएका छन् ।

अनुपस्थित भएको विद्यार्थीलाइ उपस्थित भएको हाजिरी प्रमाणित गरेर दिवा खाजाको रकम ६ लाख २८ हजार प्राध्यानध्यापक यादवले अनियमितता गरेको र हिसाव माग्दा आलटाल गर्ने गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य वीरेन्द्र कुमार साहले आरोप लगाएका छन् ।

दिवा खाजाको रकमको हिसाव सार्वजानिक गर्नभन्दा प्रअ यादवले अभिभावक भेला गराउन नमानेको भनाइ साहको रहेको छ । कार्यालय सञ्चालन, विविध खर्चको नाउँमा विद्यालयका प्राध्यानध्यापक यादवले रकम अनियमिता गरेको दावी साहको रहेको छ ।

वडा अध्यक्ष प्रत्यासी हृदय नारायण साहले बिद्यालयको अवस्था खÞराब गर्नुमा प्राध्यानध्यापक यादवको अहम् भूमिका रहेको टिपण्णी गरेका छन् । उनले कहिले अभिभावकलाइ विद्यालयमा नबोलाउने, खर्च सार्वजनिक गर्न भन्दा नगर्ने, विद्यार्थीको पठन पठनमा ध्यान नदिने, समयमा विद्यालय नआउने बताए ।

विद्यालयमा राजनितिक हस्तक्षेप बढी रहेको प्राध्यानध्यापक यादवको जिकिर रहेको छ । काम गर्न खोज्दा राजनितिक दवावको कारण गर्न सकिने अवस्था नरहेको उनको भनाइ रहेको छ ।

बाल विकासमा कार्यरत रहेकी शिक्षिका अनिता कुमारी महतो, सुगन्धि कुमारी यादवले १ वर्षदेखि तलब सुबिधा पाएका छैनन् । अनिता कुमारी यादव कुन आधारले विद्यालयमा अध्ययन गराउन आउने गरेको बारे केही जानकारी नरहेको प्राध्यानध्यापक यादवले बताए । तलब कहाँबाट दिने भनी सोधिएको प्रश्नमा प्राध्यानध्यापक यादवले भने वडा कार्यालयबाट तलब पाउने छ विद्यालयबाट दिन मिल्दैन भने ।

१ वर्षदेखि तलब नपाएको गुनासो शिक्षिकाहरुको रहेको छ । नियुक्ति नै नभएकोले नगरपालिकाबाट तलव सुबिधा दिन नमिल्ने नगर प्रमुख बैजनाथ यादवले बताए । विद्यालयको जग्गा व्यवस्थापनको लागि पटक–पटक आग्रह गर्दा पनि सम्बन्धित वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कुनै सक्रियता नदेखाएकोले विद्यालयमा कम्पाउण्ड वाल गर्न नसकिएको उहाले बताए ।

व्यवस्थापन समितिका अध्यक्ष राम इजोत महतोले हिसाव किताबमा विवाद भएकोले अभिभावक भेला गर्न नसकिएको जिकिर गरे ।

शौचालयमा पानीको व्यवस्था नभएकोले प्रयोगविहीन भएको बताउँदै पानीको व्यवस्थापन गर्न र सरसफाई गर्न प्राध्यानध्यापकलाई पटक–पटकभन्दा केही वास्ता नगरेको महतोले जनाए ।

पूर्वाधारको दृस्टिकोणले पिछडिएको सो विद्यालयको सुधारका लागि स्थानीय जनप्रतिनिधिले चासो नदेखाए गरीब, असहाय र मध्यमवर्ग समुदायका बालबालिकाको भविष्य अंधकारमा फस्दै जाने अवस्था रहेको छ । विद्यालय प्रति कुनै चासो नराख्ने प्राध्यानध्यापक यादवले हटाउनु पर्ने अवस्था रहेको निष्कर्ष स्थानीय अभिभावकहरुको रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ