कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामहरूको बारेमा दुई दलीय प्रदेश संयन्त्रको बैठकमा जानकारी गराएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय जिल्ला संयन्त्रको प्रदेश स्तरीय संयुक्त बैठकलाई कपिलवस्तुमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले गरेका कामबाट देखिएका उपलब्धिलाई नजरअन्दाज गरेर धारणा बनाउन नहुने बताएका हुन् ।
“प्रदेश सरकार बन्नु अघि र बनिसकेपछि विकासको अवस्था के थियो ? एक पटक फर्केर हेरौँ। अहिले गाउँगाउँमा भइरहेको विकासको काम प्रदेश सरकारले नै गरेको हो”, मुख्यमन्त्री आचार्यले भने, “प्रदेश सरकार नागरिकको भरोसाको केन्द्र बनिरहेको छ । विकास र समृद्धिको सारथी प्रदेश नै हो ।”
योजना निर्माणदेखि कार्यान्वयन गर्ने प्रवृत्तिलाई लयमा ल्याउने गरी सरकारले भूमिका बढाएको भनाई उनको छ ।
“अघिल्ला सरकारले टुक्रे योजना धेरै बनाए । बजेटको आकार पनि बढायो । उतिबेलाको गल्तीले अहिले समस्या परेको छ”, उनले भने, “आगामी बजेट ३३ देखि ३४ अर्बको हाराहारीमा ल्याउँदा प्रदेशले लय समात्छ ।”
यस्तै, मुख्यमन्त्री आचार्यले चालु आर्थिक वर्षमा सरकारले पुरक बजेट नल्याउने स्पष्ट पारे । उनले बैठकमा आएका सुझावहरूलाई सरकारले आत्मसाथ गर्दै सरकारको कामलाई गति प्रदान गर्ने गरी भूमिका बढाइरहेको बताए ।
तपाईको प्रतिक्रिया