शहीद दिवसमा नेजपाद्वारा हिन्दू योद्धा स्वर्गीय काशीनाथ तिवारीको सालिक सरसफाई एवं माल्यार्पण

समाचार

वीरगंज । शहीद दिवसको अवसरमा नेपाल जनता पार्टी पर्सा जिल्ला समितिद्वारा हिन्दू योद्धा स्वर्गीय काशीनाथ तिवारीको अशोकबाटिकास्थित श्मशानघाट चौकमा रहेको सालिक सरसफाई एवं माल्यार्पण कार्यक्रम सम्पन्न गरेको छ ।

सनातन धर्म रक्षा एवं हिन्दू राष्ट्र नेपाल स्थापना हेतु कार्य गर्ने हिन्दू युवा संघका संस्थापक केन्द्रीय अध्यक्ष स्वर्गीय काशीनाथ तिवारीको २०६७ साल असार १३ गते वीरगंजमा हत्या भएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा तत्कालीन सम्पूर्ण राजनीतिक दल एवं जिल्लाका सुरक्षा प्रमुखहरुको उपस्थितिमा शहीद घोषणा गर्ने सहमति गरी गृह मन्त्रालयमा पठाइएको थियो । राजनीतिक बेइमानीको कारण काशीनाथ तिवारीलाई हालसम्म शहीद घोषणाबाट उपेक्षित गरीएको छ ।

हिन्दूवादी पार्टी, संघ–संस्थाले स्वर्गीय तिवारीलाई हिन्दू शहीदको रुपमा सम्मान गर्दै आएका छन् । स्वर्गीय तिवारीले सनातन धर्म रक्षाका लागि गर्नु भएको अमूल्य योगदानको कदर गर्दै नेपाल जनता पार्टी पर्सा जिल्ला समितिले शहीद दिवसको उपलक्ष्यमा सालिक बृहत सरसफाई एवं माल्यार्पणसँगै तिवारी पत्नी बबिता तिवारीसहित परिवारका अन्य सदस्यगणहरुलाई सम्मान गरेको थियो ।

नेपाल जनता पार्टी पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको सभापतित्वमा भएको कार्यक्रममा नेजपा केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय सदस्यहरु विनोद कुर्मी, पारस द्विवेदी, शिक्षाप्रेमी राजेन्द्र सिंह, नेजपा पर्सा जिल्ला उपाध्यक्ष धीरज साह कानू, कार्य समिति सदस्यहरु प्रमोद शर्मा, सुमंत कुमार दीप, अंशु कुमार प्रजापति, संतोष कुशवाहा, बहुदरमाई नगरपालिका संयोजक मुना साह तेलीसहित विभिन्न धार्मिक संघ–संस्था, राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी, सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ